काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताए ।
उनले राज्यका प्रमुख संरचनाहरूको पुनर्निर्माण अझै प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सिंहदरबार र संसद् भवनलगायतका संरचना हालसम्म पनि जस्ताकोतस्तै रहेको उल्लेख गरे ।
आचार्यले निजी क्षेत्रको पुनर्निर्माणप्रतिको उत्साहको प्रशंसा गर्दै सरकारी संरचनाको अवस्थाप्रति भने असन्तुष्टि जनाए ।
उनले भने, ‘भदौ २४ को विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु, जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु ।’
आफूले नयाँ संसद् हलमा बजेट प्रस्तुत हुने सुने पनि अहिले पनि अस्थायी भवनबाटै प्रतिनिधिसभामा आफ्ना कुरा राख्नुपरेको उनले बताए ।
‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे ।
आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रहसमेत गरे ।
‘के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्, त्यो पत्ता लगाऔँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाऔं, बिफोर इट्स टु लेट,’ उनले भने ।