एनडब्लुइडिसी र ठेकेदार कम्पनीले बाढी प्रभावित परिवारलाई दिन थाले राहत

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा आएको विनाशकारी बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) र आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीहरूले तत्काल आर्थिक राहत वितरण सुरु गरेका छन् ।

एनडब्लुइडिसी, मुख्य ठेकेदार डुसान एनरबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई राहत रकम सम्बन्धित कर्मचारीको बैंक खातामा वा प्रमाणित नजिकको हकदारलाई उपलब्ध गराउन थालेको जनाएको छ ।

कम्पनीका अनुसार नजिकको हकदारले आफ्नो पहिचान प्रमाणीकरण गरी भुक्तानी प्रक्रिया अघि बढाउन सम्बन्धित ठेकेदार कम्पनीसँग सम्पर्क र आवश्यक समन्वय गर्न सक्नेछन् ।  

कम्पनीहरूले तत्काल आर्थिक राहतसँगै बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा बेपत्ता कामदारका परिवारलाई मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइरहेका छन् ।

यसैबीच, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले प्रभावित कामदार तथा कर्मचारीका लागि प्रचलित कानुन र कम्पनीको नीतिअनुसार सहयोग तथा क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । 

घाइते उपचारपछि डिस्चार्ज, ५१२ जना अझै सम्पर्कविहीन

बाढीमा घाइते भएका कामदारहरूको उपचार सफलतापूर्वक सम्पन्न भई अस्पतालबाट डिस्चार्ज गरिएको कम्पनीले जनाएको छ । उपचारपछि पनि घाइते कामदारलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताइएको छ ।

उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन डुसानबाट थप २१ सदस्यीय उद्धार टोली भदौ २३ गते आयोजना स्थलमा पुगेको छ । टोलीले खोजी तथा उद्धार कार्यका लागि अस्थायी क्याम्प स्थापना गर्न उपयुक्त स्थानहरूको पहिचान सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजना स्थलसम्म पुग्न कठिन भूगोलका कारण खोजी तथा उद्धार कार्य प्रभावित भएको छ ।

मंगलबार, भदौ २३ गतेसम्मको विवरणअनुसार आयोजनामा कार्यरत ५१२ जना कामदार अझै बेपत्ता वा सम्पर्कविहीन रहेका छन् ।  

एनडब्लुइडिसी र ठेकेदार कम्पनीहरूले नेपाली सेना, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायसँग समन्वय गर्दै जारी खोजी तथा उद्धार अभियानलाई सहयोग गरिरहेको बताएका छन् ।

उद्धार कार्यका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै खोजी अभियानलाई तीव्र बनाउन ठूला उपकरण हवाई मार्गबाट आयोजना स्थलमा पुर्याउने तयारी पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।

डुसान, एन्ड्रिट्ज र पावर चाइनाका प्रतिनिधिहरू प्रभावित कामदार तथा कर्मचारीका परिवारबाट आउने प्रश्न र सुझावका लागि उपलब्ध रहने जनाउँदै खोजी तथा उद्धार अभियानमा आवश्यक सबै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share News