नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो । बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत रहेको अग्रवाल इन्स्योरेन्समा संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीको रुपमा नियुक्त भएका हुन् ।
राष्ट्र बैंकले आज डेपुटी गभर्नर पाउने संकेत, गभर्नरको सिफारिस पुग्यो अर्थमन्त्रालय
काठमाडौं । नेपाल राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नरको आज नियुक्ति हुने संकेत देखिएको छ । आज (फागुन २५ गते) बोलाइएको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्ति गर्ने सम्भावना अधिक रहेको स्रोतले दाबी गरेको छ । आज मन्त्रिपरिषद बैठक बोलाइएको र राष्ट्र बैंकमा डेपुटी गभर्नर रिक्त भएको एक साता वितिसकेकोले आजैको मन्त्रिपरिषदले नियुक्ति गर्न सक्ने अर्थमन्त्रालय स्रोतले दाबी गर्यो । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर नियुक्तिको लागि गरेको सिफारिस अर्थमन्त्री समक्ष पुगेको स्रोतले बतायो । ‘डेपुटी गभर्नर नहुँदा राष्ट्र बैंकका धेरै काम प्रभावित भएका छन्, दुबै डेपुटी गभर्नरले अवकाश पाएको एक साताभन्दा बढी समय पनि भइसकेको छ, गभर्नरले नयाँ डेपुटी गभर्नरको लागि पठाउनु भएको सिफारिस अर्थमन्त्रीले प्राप्त गरिसक्नु भएको छ, त्यसैले आजको मन्त्रिपरिषदले नयाँ डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना अत्याधिक छ,’ स्रोतले भन्यो । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर हुने कानुनी व्यवस्था छ । यसअघिका डेपुटी गभर्नरहरु चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल गत फागुन १८ गतेदेखि सकिएपछि यी दुबै पद रिक्त छन् । गभर्नरले अर्थमन्त्री समक्ष सिफारिस गर्ने र अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले ५ वर्षको लागि डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ । दुबै डेपुटी गभर्नर राष्ट्र बैंकको संचालक समिति सदस्य पनि हुने व्यवस्था छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले डेपुटी गभर्नर नियुक्त गर्ने चर्चा चलेको भएपनि सो बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएका थिएनन् । मन्त्री पौडेल उनकै निर्वाचन क्षेत्र बुटबलको एक कार्यक्रममा भाग लिन गएका थिए । को–को परे सिफारिसमा ? नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । यी कार्यकारी निर्देशकबाट २ जनालाई मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । तर, गभर्नरको सिफारिस र त्यसैको आधारमा अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले डेपुटी गभर्नर बनाउने कानुनी व्यवस्था भएकोले गभर्नरले कसकसलाई सिफारिस गरे भन्ने चासो धेरै छ । अर्थमन्त्रालय स्रोतले गभर्नरले सिफारिस गरेका ३ जनाको नाम उल्लेख गरेको छ । जसमा अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारीमा पनि रहेका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, सार्वजनिक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. निलम तिम्सिना र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको नाम सिफारिसमा परेको स्रोतको दाबी छ । दुई जना डेपुटी गभर्नर नियुक्तिको लागि गभर्नरले ४ जना कार्यकारी निर्देशकको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार गभर्नर अधिकारीले ४ जनाको नाम सिफारिस गरेका स्रोतले जानकारी दियो । तर, अर्काे एउटा नाम भने स्रोतले खुलाएन । राष्ट्र बैंककै कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, ऋषिकेश भट्ट वा बमबहादुर मिश्रमध्ये कुनै एक जनाको नाम सिफारिस भएको हुन सक्ने चर्चा बजारमा चलेको छ । यद्यपि, स्रोतले यसको पुष्टी गरेको छैन । सम्बन्धित समाचार नयाँ डेपुटी गभर्नरः भट्ट बन्धुको बढ्यो सम्भावना, इतिहास रच्लिन् त तिम्सिनाले ?
बेरोजगार पहिचान गर्दै खोटेहाङ र जन्तेढुङ्गा, फागुनभित्र निवेदन पेश गर्नुपर्ने
खोटाङ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम सुरु गरेको छ । स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरण सुरु गरिएको हो । गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन २०७५ तथा सोको नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशनबमोजिम आर्थिक वर्ष २०७८/०७९ का लागि यह िफागुनभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ । आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन सकिने गाउँपालिकाले जनाएको छ । लाभग्राही परिचयपत्र लिन नागरिकताको फोटोकपी र एकप्रति फोटोसहित वडा कार्यालयमा निवेदन दिन सकिने खोटेहाङ गाउँपालिकाले गत फागुन १३ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जन्तेढुङ्गा गाउँपालिकाले पनि बेरोजगार न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन फागुनभित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ । बेरोजगार व्यक्तिको सूचीमा समावेश हुन चाहने व्यक्तिले एक–एकप्रति फोटो, नागरिकताको फोटोकपीका साथ आआफ्नो वडा कार्यालयमा निवेदन पेश गर्न पाउने व्यवस्था मिलाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर साहले जारी गरेकाे सूचनामा उल्लेख छ । व्यक्तिगत, पारिवारिक विवरण, आय आम्दानी तथा अन्य पेशा व्यवसायलगायतका सम्पूर्ण विवरण समेटेर प्रत्येक वडा कार्यालय र रोजगार सेवा केन्द्रमा निवेदन फर्म भर्न सकिने गाउँपालिकाले जनाएको छ । प्राप्त आवेदनका आधारमा अघिल्लो वर्ष बेरोजगारमा सूचीकृत भएका नागरिकको नवीकरण एवं छुट भएका व्यक्तिको सहभागिताको सुनिश्चितता गरिने जनाइएको छ । सय दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध हुन चाहने बेरोजगार व्यक्तिमा सूचीकृत नागरिकलाई गाउँपालिकाभित्रका सडक मर्मत, विद्यालय तथा धार्मिकस्थलको घेराबारा हाल्ने, सडकको टेवा पर्खाल निर्माण, पैदल तथा पर्यटन मार्ग सरसफाइलगायतका काममा खटाउने तयारी गरिएको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने उक्त कार्यक्रमको कुनै पनि प्रक्रिया अगाडि बढाइएको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा अधिकांश विकासे योजनाका काम असार मसान्तमा उपभोक्तासँग सम्झौता गरेर केही दिनमै फरफारक गर्ने प्रचलन छ । रासस