बीमा समितिकाे अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि  सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिकाे अध्यक्ष पद गत एक महिनायता रिक्त रहेकाे थियाे । यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।

२०३८ सालदेखि जागिर छोड्न चाहेको तर अझै पाएको छैन

मलाई रिटायरमेन्टको बारेमा सोधिरहनु भएको छ, बेलाबेलामा अरूले पनि याे विषयमा कुरा गर्छन् । मैले जागिर छोड्न खोजेको २०३८ सालदेखि हो । मैले जागिर छोड्न खोज्दा साथीभाइहरुले ‘तिमीलाई पुग्यो होला अनि छोड्न खोज्यौ’ भन्छन् । यसो भन्नेहरुलाई मैले यो पनि ठिकै हो भन्ने गरेको छु । तर, त्यसो भन्नेहरुलाई मैले भन्ने गरेको छु कि एउटा कुरा याद गरौं, भगवानको अनुकम्पाले मैले जागिर खाएको ठाउँबाट जति तलब पाएँ, त्यो रकम तिम्रो कमाई जति छ कि छैन होला ? पक्कै पनि छ । विगतदेखि मैले जुन जुन कम्पनीको जे जस्तो स्थानमा रहेर काम गर्दाको मेरो कमाईं हेरौं । तर, मेरो आफ्नै नयाँ घर छैन । आफ्नो गाडी छैन । मेरा छोराछोरी बेलायत र अमेरिका बसेर पढेका छैनन् । तपाईंको जस्तो अमेरिकामा बसेर छोराछोरी पढेका छैनन् । मसँग त अहिले पनि गाडी छैन । तपाईंको जस्तो बंगला मसँग छैन भन्ने गरेको छु । भगवानको के लिला हो, २०३८ सालदेखि जागिर छोड्छु भन्दा भन्दा अहिलेसम्म छोड्न पाएको छैन । अर्काे कुरा, हामीले उमेरको बारेमा किन ‘कन्सर्न’ राख्ने ? किन यति वर्ष, उति वर्षको बारेमा कुरा गर्ने ? मेरो सोचाईं के हो भने हामी जे काम गरौं, त्यसमा ‘इन्जोय’ गरौं । मलाई यहाँ पनि गाली गर्छन् । ‘त्यो कुनामा बसेर काम गर्न थालेपछि न ततो भन्छ, न चिसो भन्छ, न खाजा ल्याऊ भन्छ, न यति बेला भयो भन्छ’ भन्छन् । म भोक, तिर्खा वा समय गएकै पत्तै पाउदिनँ । काममा इन्जोय गर्छु । अब उमेरको कुरा किन आयो ? मेरो उमेरका कारण के कुरामा कति असर भयो ? फिजिकल्ली म स्वस्थ छु, काम गर्न सक्छु भने किन चिन्ता गर्नु पर्यो ? विरामी भयो, रोग लाग्यो, काम गर्न सकेन भने बेग्लै कुरा भयो । अर्काे कुरा मनमा आउँछ । कति काम गरिरहने भन्ने पनि लाग्छ । अरुको मनमा पनि कति काम गरिरहेको भन्ने लाग्छ होला । मैले पनि काम छोड्न कति खोजें, मिलेको छैन । केही समयअघि राष्ट्र बैंकले उमेर हदको सर्कुलर जारी गरेको थियो । त्यो सर्कुलर आएपछि म धेरै खुसी भएको थिएँ, बढारेर मिल्काउनु पर्ने, हावाले उडाएर लग्यो भन्ने लागेको थियो । तर, पनि साथीभाइहरु सबै मिलेर यो त भएन, अन्याय भयो, यस्तो कसरी हुन्छ भन्न थाले । अब जागिर खानको लागि म मुद्दा हाल्न जाने ? म त यस्तो गर्दिनँ भनेर उनीहरुलाई भनेँ । मेरो जीवनमा मैले जति ठाउँबाट आएँ, ती सबै ठाउँमा जागिर छोडेर मात्रै आएको छु । बैंकहरुमा, धानचामल कम्पनीमा, एफएमओ वा अन्य जुन ठाउँमा पनि जागिर गरेँ, सबैतिर छोडेर आएको छु । तर, साथीहरुले मान्दै मानेनन् । हुँदैन भने । अनि मैले हेर्दै नहेरी ल त भनेर सही गर्दिएँ । अदालतले मेरो पक्षमा फैसला गरिदियो । मेरो काम फेरि लम्बियो । अहिले त मान्छेको औसत आयु पनि बढेको छ । बाजे बराजुको पालामा हो भने म अहिले जति वर्षको भएँ, त्यो उमेरसम्म काम गर्ने भन्ने कुरा त कल्पनै गर्न सकिदैनथ्यो । तर, भगवानको कृपाले अहिले म मजाले काम गरिरहेको छु । त्यसैले यो उमेर भन्ने कुरालाई बढी प्राथमिकता नदिऊँ । जे काममा आफू अभ्यस्त भइएको छ, त्यो काममा इन्जोय गरेर लागिरहौं । उमेरले के गर्छ र ? थाकिन्छ र ? मलाई घरमा पनि गाली गर्छन् । भन्छन्– अफिसमा गएर १२/१४ घण्टा काम गरेपछि अहिले पनि घरमा काम गर्न फेरि ठेलीका ठेली लिएर आउँछ । काम नसकिएपछि के गर्नु त ? बैंकको काम आज गर्नु र भोलि गर्नुमा फरक हुन्छ । हेर्नु र नहेर्नुमा फरक हुन्छ, बैंकलाई अफ्ठेरो पर्न सक्छ । त्यसैले अफिसमा नभ्याएको काम घरमा गएर पनि गर्नैपर्छ । म बिहान पौने चार, ४ बजेतिर उठ्छु । तीन घण्टाजति मेडिटेसन गर्छु । १० बजेसम्ममा बैंकमा आइपुग्छु र बेलुका ८ बजेसम्ममा घर पुगिसक्छु । दिनमा १०–१२ घण्टा त काम गरिन्छ । म २०२५ सालमा बैंकमा प्रवेश गरेको थिएँ । अझै पनि काम गरिरहेको छु । बैंकिङ क्षेत्रको विकासक्रमका बारेमा कुरा उठ्छ । म त मान्छेको जीवनको विकासक्रम पनि हेरौं भन्छु । मेरो भनाईं के छ भने विश्व तिम्रालागि परिवर्तन हुँदैन, तिमीले आफूलाई परिवर्तन गर्ने हो । (प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत मानन्धरसँग गरिएको कुराकानीमा आधारित)

क्यानडा पठाइदिने भन्दै ९० लाख ठगी गर्ने पवर्तका एक युवक पक्राउ

कास्की । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा ९० लाख ७१ हजार ५०० ठगी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । अभियुक्त विकले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिकालगायतका देशमा धेरै मानिस रोजगारको लागि पठाइसकेको भनेर विश्वास दिलाइ कास्की, स्याङ्जा, तनहुँ, म्याग्दीलगायतका जिल्लाका युवालाई ठगी गरेको पीडितले दिएको निवेदनबाट पुष्टि भएको प्रहरीले जनाएको छ । पीडितहरुलाई विश्वासमा पार्नका लागि आरोपित विकले विभिन्न सहकारी संस्था र विकास बैंकको चेकसमेत दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ हमालले जानकारी दिए । पक्राउ परेका विकलाई जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताइन्छ । रासस