नेपाल लाइफको सीईओमा नियुक्त भएका सन्तोष प्रसाईले पाए समितिको स्वीकृति
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो । गत माघ २७ गते मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो । सीईओमा उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले साउन १ गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए । सम्बन्धित समाचार नेपाल लाइफको सीईओमा सन्तोष प्रसाई नियुक्त, सञ्चालकमा दुई जना निर्वाचित
कालिका लघुवित्तका सीईओ महेन्द्र अधिकारीको कार्यकाल थपियो
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र अधिकारीको कार्यकाल थपिएको छ । चैत ११ गते बसेको संस्थाको वार्षिक साधारणसभाले अधिकारीको पदको कार्यभार थप २ वर्षको लागि थपेको हो । उनी गत असोज ३० गतेबाट २ वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त भएका थिए । तर हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको पदावधि थपेर ४ वर्ष पुर्याएको हो । यससँगै, उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।
राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता ढकालले आजदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् । उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी) मा रहेका थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक ढकालले व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकका विभिन्न विभागहरुमा २५ वर्ष कार्य अनुभव हासिल गरेका छन् । यसअघि बैंकको प्रवक्तामा गणाकर भट्ट रहेका थिए । उनले विगत १४ महिनाजति नेपाल राष्ट्र बैंकको प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए ।