कोभिडका कारण स्थगित भयो भन्सार एजेन्टको लिखित परीक्षा

काठमाडौं । आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्ट छनौटको लिखित परीक्षा स्थगित भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै लिखित परीक्षा स्थगित भएको जनाएको हो । ‘कोभिड–१९ वाट सृजित असामान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगित गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिन अगाडी सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षा सम्बन्धी सूचना गोरखापत्र र विभागको वेवसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ । गत चैतमा विभागले बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सार्वजनिक सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रोकिएको परीक्षामा एकैपटक ६६० जना एजेन्ट थप गर्ने तयारी भएको थियो ।

सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालकमा डा. रमेशकुमार भण्डारी नियुक्त भएका छन् । जेठ ९ गते आइतबार सम्पन्न विकास बैंकको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक भण्डारी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी विकास बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका हुन् ।

सीए रिमालले पाए राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी

काठमाडाैं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल उप महानिर्देशक रहेका रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका हुन् । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अवस्थामा नियुक्ती प्रक्रिया असहज भएकोले तत्कालका लागि सो जिम्मेवारी उनलाई अख्तियारी दिएकाे बुझिएको छ । कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।