राधी विद्युत कम्पनीको अध्यक्षमा पति नियुत्त
काठमाडौं । राधी विद्युत कम्पनीको अध्यक्षमा बिमेशमान पति नियुक्त भएका छन् । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले सञ्चालक अनिल कुमार रुङ्गटालाई परिवर्तन गरी सञ्चालक पदमा बिमेशमान पतिलाई नियुक्त गरेको हो । र, सोही बैठकले असार ७ गतेदेखि नै लागू हुने गरी सञ्चालक पतिलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । खारे इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक रुङ्गटालाई सेयरधनी खारे इन्भेष्टमेन्टले पत्र मार्फत फिर्ता बोलाएकाले उनको ठाउँमा पतिलाई नियुक्त गरिएको कम्पनीले जानकारी गराएको छ ।
माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । असार ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिग्देललाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सिग्देल राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.को तर्फबाट नियुक्त भएका हुन् ।
प्रदेश १ ले रोजगारी गुमाएका युवालाई रोजगारी दिने, स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा
काठमाडाैं । प्रदेश एक सरकारले कोरोनाको कारण रोजगारी गुमाएका युवालाई रोजगारी उपलब्ध गराउने भएको छ । प्रदेशले युवालाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने पनि बताएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो व्यवस्था गरेको बताएका हुन् । यस्तै, उनले मुख्यमन्त्री स्वरोजगार कार्यक्रममा १० करोड रुपैयाँ विनियोजन गरेको पनि बताए । यस मार्फत युवालाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमीका खेल्ने उनको भनाई छ ।