लोकसेवाले कर्मचारीको बढुवामा विभेद गरेकाे छ: अध्यक्ष मैनाली
काठमाडाैं । लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए । संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको पनि उनले बताए । लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भिर असर पर्ने अवस्था रहेको बताए । यसका कारण तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परिक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिनुकाे साथै उच्च पदका सरकारी बढुवा र अन्तरवार्ताहरु पनि रोकिने अवस्था रहेको उनले बताए । स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।
शिखर इन्स्योरेन्सको सञ्चालकमा बज्रचार्य र अमात्य निर्वाचित
काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा दिनेश बज्राचार्य र स्कन्द अमात्य निर्वाचित भएका छन् । चैत ९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट सञ्चालक पदमा दुई जना निर्वाचित भएका हुन् । कम्पनीको सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा बज्रचार्य र अमात्य निर्वाचित भएका हुन् । यससँगै उनीहरुले आगामी चार वर्षसम्म कम्पनीको सञ्चालक पदमा रहेको आफ्नो कार्यभार सम्हाल्नेछन् । साथै, सभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी २९.२३१ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । त्यस्तै, बाेनस सेयरपछि कायम हुने चुक्ता पुँजीकाे ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित भएकाे छ । सम्बन्धित समाचार शिखर इन्स्योरेन्सको २९% लाभांश र ३०% हकप्रद पारित, सर्वसाधारण सेयरधनीको हिस्सा बढ्यो
पूर्वाधार विकासका क्षेत्रमा दखल भएकालाई निफ्राले जारी गर्यो यस्तो सूचना
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका व्यक्ति वा संस्थाहरुलाई ‘आईएनएफआरए एक्सिलेन्स सेन्टर’मा सूचीकृत हुन सूचना जारी गरेको छ । सो सम्बन्धी कम्पनीले चैत ४ गते एक सूचना जारी गरेको हो । कम्पनीले विभिन्न उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थालाई उक्त सेन्टरमा सूचीकृत हुन सूचनामार्फत जानकारी गराएको हो । जसमा सूचीकृत हुन योग्यता पुगेकाले अबको एक महिनाभित्रै आवेदन दिन सक्ने छन् । इच्छुकले आगामी वैशाख ३ गतेसम्म आवेदन दिन पाउने छन् । यो प्रकृया मार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचानदेखि निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउने निफ्राले बताएको छ ।