महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको ८औं वार्षिक साधारणसभा चैत २५ गते सप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा श्रेष्ठ र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । बैंठकले उनलाई आगामी चैत २७ गतदेखि लागू हुने गरी डीसीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । त्यस्तै, सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।

कतार प्रहरीकाे कुनै माग आएको छैन, प्रलोभनमा नपर्नु: वैदेशिक रोजगार विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीको रोजगारीमा कुनै माग नआएको जनाएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै कतार रोजगारीमा पठाईदिने भन्दै पैसा मागी प्रलोभवमा पार्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य देशको रुपमा रहेको कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको छ । तर हालसम्म कतार प्रहरीका लागि कुनै माग (डिमाण्ड) आएको छैन । कतारस्थित नेपाली दुतावास मागपत्र प्रमाणीकरण भएको छैन । विभागले समेत कतार प्रहरीको रोजगारीका लागि पूर्वस्वीकृति दिएको छैन ।’ विभागले पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सकंलन गर्ने, अन्तरवार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न समेत आग्रह गरेको छ । कुन कन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ, कुन कुन इजाजत्रपत्रवाला संस्थाले विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छन्, अन्तरवार्ताको मिति तथा स्थान लगायतका विवरण विभागको वेबसाइटमा राखिने गरिएको भन्दै सूचना अनुसार सम्भावित ठगीबाट बच्न विभागले आग्रह गरेको छ । यसअघि कतार प्रहरीको रोजगारीका लागि भन्दै अन्तरवार्ता लिने विभिन्न कम्पनीमा विभागले छापा समेत मारेको थियो । रोजगारीको माग प्रमाणीकरण नहुँदै म्यानपावर कम्पनीहरुले आन्तरिक अन्तवार्ता लिने, ठूलो रकम माग्ने, पासपोर्ट संकलन गर्न थालेपछि विभागले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।