नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली, पूँजी बजारको उन्नति गर्ने प्रतिवद्धता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । मन्त्रालयले गत असार १४ गते मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्ष मनोनयन गरेको हो । नवनियुक्त अध्यक्ष मैनालीले पदबहाली गर्दै धितोपत्रको दोश्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रुपमा थिए । उनले विभागमा रहँदा प्रभावकारी काम गरेकोले उनकाे चौतर्फि रुपमा चर्चा पनि भएको थियो । त्यसपछि उनी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । हाल उनी अर्थ मन्त्रालयमै छन् । उनले तत्कालका लागि सरकारले अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा नियुक्त गरेको भएपनि दीर्घकालिन रुपमा भने अन्य कसैलाई राख्न सक्ने बताए । ‘अहिले तत्काल काम चलाउनको लागि मलाई नियुक्त गरिएको हो, हामी सधैँ त्यहाँ रहँदैनौं, अर्थ अन्तर्गतको निकाय रहेकोलेले मात्रै अर्थले प्रतिनिधित्व गरेको हो,’ उनले भने । यस्तै उनले पूँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेकाे पनि बताएका छन् ।
टेकु अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । यसअघि उनी अस्पतालको प्रमुख कन्सल्टेण्ट रहेका थिए । हाल अस्पतालको निर्देशकको कार्यभार सम्हाल्दै आएका डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो । संक्रमण रोग विशेषज्ञ समेत रहेका डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।
ज्योति लाइफ इन्स्योरेन्समा खुल्यो जागिरको अवसर, असार २५ गतेभित्र आवेदन दिईसक्नु पर्ने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालभरका विभिन्न शाखा तथा उपशाखा हरुमा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ज्योति लाइफले नेपालका विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । आवेदन दिनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक रहेको र २१ वर्ष देखी ४० बर्ष सम्म हुनुपर्ने रहेको । योग्यता पुगेका ईच्छुकव्यक्तिले आबेदन दिन चाहेको पद तथा स्थान प्रष्ट उल्लेख गरि असार २५ गतेभित्र आवेदन दिइसक्नु पर्ने इन्स्योरेन्सले जानकारी गराएको छ । आवेदकहरुको लागि २०७८ असार २५ गतेसम्म ईमेल ठेगाना वा मेराे जब मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।