चिनियाँ जहाजका पाइलटको काटिएको सेवासुविधा फिर्ता

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सञ्चालक समितिले चिनियाँ जहाजका पाइटलको कटौती गरेको भत्ता फिर्ता गर्ने भएको छ । गत शुक्रबार बसेको समितिको बैठकले यसअघि भएको उक्त निर्णय रद्द गर्दै पूरा तलव दिने भएको हो । गत माघ २५ गते बसेको निगम सञ्चालक समितिको बैठकले चिनियाँ जहाज ग्राउण्डेड भएको भन्दै कार्यरत स्थाई पाइलटको सेवासुविधा कटौती गर्ने निर्णय गरेको थियो । माघ मसान्तबाट निगमले कार्यरत पाइलटको ७५ प्रतिशत सम्म तलव कटौली गरेको थियो । यस्तै जहाज ग्राउण्डेड भएको समयदेखि पुस मसान्तसम्म दिएको सेवासुविधा समेत कटौती गर्ने निर्णय गरेको थियो । पूराना सबै निर्णय फिर्ता गर्दै शुक्रबारको बैठकले माघबाट काटिएको सबै सेवासुविधा फिर्ता गरी नियमअनुसारको सेवासुविधा दिने निर्णय गरेको हो । न्यूनतम ४५ घन्टा बराबरको सेवासुविधा पाउँनुपर्ने भन्दै कार्यरत पाइलटले विरोध गरेका थिए । निगम सञ्चालकको उक्त निर्णय अमान्य भन्दै कर्मचारी युनियले विज्ञप्ती नै जारी गर्दै विरोध समेत गरेको थियो । नेपाल वायुसेवा निगमका कर्मचारीहरुको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ मा ४५ घण्टाको उडान भत्ता ग्यारेन्टी गरिएको छ । विनियमावली विपरित निगम सञ्चालक समितिले भत्ता कटौती गर्ने निर्णय गरेको थियो । निगमको उक्त निर्णयबाट वाई–१२ ई का पाइलटले मासिक २० हजार र एमए–६० का पाइलटले २४ हजार बराबरको तलव पाएका थिए । निगम सञ्चालक समितिले ६ थान चिनियाँ जहाजबाट सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै गत साउन १५ गतेबाट चिनियाँ जहाज ग्राउण्डेड (उडान बन्द) गरिसकेको छ ।

बैशाखदेखि नेपाली श्रमिकको अनिवार्य बायोमेट्रिक परीक्षण हुने

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जाने नेपाली श्रमिकले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक राजेगारीको लागि अभिमुखीकरण तालिम दिने संस्थाले तालिम नै नदिई प्रमाणपत्र जारी गरेपछि बायोमेट्रिक परीक्षणलाई अनिवार्य गर्न लागिएको हो । विभागले बुधबार एक सूचना प्रकाशन गर्दै उक्त नियम आगामी बैशाख १ गतेबाट लागु हुने जनाएको छ । सूचना अनुसार बायोमेट्रिक हाजिरी परीक्षण नमिल्ने श्रमिकलाई अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइनेछ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डबाट स्वीकृति लिएको हुनपर्छ । विभागले नक्कली बायोमेट्रिकको प्रयोग हुँदा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुन सक्ने जनाएको छ ।

राष्ट्रिय जनगणना जेठ २५ गतेदेखि शुरू, प्रत्येक घरमा करिब ८० वटा प्रश्न लैजाने

काठमाडाैं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा छलफलमा भाग लिँदै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले २०७८ को जनगणनाको मुख्य गणना कार्य २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन गरिने बताएका हुन् । यस अवधिमा सुपरिवेक्षकहरुले प्रत्येक वडाबाट सामुदायिक प्रश्नावलीमा रहेका विवरण सङ्कलन गर्ने उनले जानकारी दिए । महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताए । जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने पनि बताए । मुख्य जनगणना अघि बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचिकरण गरिने पनि बताए । जनगणनाको लागि आवश्यक तयारीहरु गरिरहेको उनले बताए । ७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए । स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरिने महानिर्देशक श्रेष्ठले बताए । वि.सं. १९६८ सालदेखि नेपालमा प्रारम्भ भएको जनगणना हरेक १०/१० वर्षमा हुँदै आएको छ ।