प्रधानमन्त्री देउवासँगै चार जना मन्त्रीले लिए सपथ

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् । उनीसँगै अन्य चार जना मन्त्रीले पनि पद तथा गाेपनियताकाे सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, अर्थमन्त्रीमा जर्नादन शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सबाट बिदा भए मेघेन्द्र प्रकाश गिरी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्र प्रकाश गिरी बिदा भएका छन् । विगत ४० महिनादेखि इन्स्योरेन्समा कार्यरत रहेका गिरी आजबाट औपचारिक रुपमा बिदा भएका हुन् । एनआईसी एशिया बैंक हुँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् । सिर्जनशिल सोचलाई व्यवहारमा उतार्न खप्पिस मेघेन्द्र प्रकाश गिरी नेपालको कर्पोरेट ब्राण्डिङको दुनियाँमा सफल पात्र मानिन्छन् । उनले हालै मात्र आफ्नै निर्देशन तथा योजनामा सन्देशमूलक भिडियो बनाएका थिए । उक्त भिडियो अहिलेको महामारीलाई मध्यनजर गर्दै सचेत बनौं! कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौं भन्ने सन्देश सहितको रहेको थियो । यस्तै, उनले यो अवधिसम्म साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेका बताएका छन् । ‘मेरो करियरको सुरुवातदेखि नै म र मेरो कर्मक्षेत्रलाई यो उचाईसम्म पुर्याउनको लागि सदैव उत्साह, हौसला, सकारात्मक मार्ग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । साथै, आगामी यात्रामा पनि यहाँहरुको निरन्तर विश्वास, सहयोग, सद्भाव एवं सत्मार्गको अपेक्षा गर्दछु ।’, बिँदा हुँदै गिरीले भने ।

नेपाल एग्रो लघुवित्तका नवनियुक्त अध्यक्षले लिए सपथ

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष रमेशकुमार कर्माचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन् । कर्माचार्य यही असार २१ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । वित्तीय संस्थाको सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा कर्माचार्यलाई चयन गरको हो । काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको वित्तीय संस्थाले सम्बन्धित क्षेत्र हेर्ने नेपाल राष्ट्र बैंक कार्यालयको निर्देशक समक्ष पद तथा गोपनीयताको सपथ लिनु पर्ने व्यवस्था भए बमोजिम यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-१८ कास्कीमा रहेकोले नव निर्वाचित अध्यक्ष रमेश कुमार कर्माचार्यले नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरी प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको सपथ लिएको वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृत नयन देवकोटाले बताए । कार्यक्रमका अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयको निर्देशक ईश्वरी प्रसाद भट्टराईले नव नियुक्त कर्माचार्यलाई पुनः दोस्रो अध्यक्ष पदको कार्यकालको शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाले ग्राहक मैत्री कार्यक्रम लिएर वित्तीय पहुँच विस्तार हुन नसकेको स्वीकृत कार्यक्षेत्रमा कार्यक्रम विस्तारमा जोड दिन समेत आग्रह गरे । कार्यक्रममा नव निर्वाचित अध्यक्ष कर्माचार्यले अध्यक्ष पदको कर्तव्य प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधिनमा रही वित्तीय प्रणालीको सम्वद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखि आफ्नो कर्तव्य इमान्दारीका साथ पालना गर्ने बताए । साथै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था इन्फिनिटी लघुवित्त वित्तीय संस्थासँग प्राप्तिमा जानको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पखाईमा रहेको समेत बताए ।