आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौं- उपप्रधानमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताएका हुन् । उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताए । पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।

अरुलाई आउन ताकेता गरिरहेको सामाजिक सुरक्षा कोषले २ वर्षसम्म आफ्नै कर्मचारी आवद्ध गर्न सकेन

काठमाडौं। निजी क्षेत्रमा कार्यरत श्रमिकलाई आवद्ध हुन ताकेता गरिरहेको सामाजिक सुरक्षा कोषमा कार्यरत कर्मचारीनै आबद्ध भएका छैनन् । निजामती कर्मचारीबाट सुरुवाती चरणमा कोष सञ्चालन गरे पनि पछि कोषले कर्मचारी नियुक्त गरेकाे थियाे । तर काेषका कर्मचारी नै हालसम्म आबद्ध गरिएको छैन । निजी क्षेत्रमा रहेका श्रमिकलाई अनिवार्य रुपमा आबद्ध गर्न निर्देशन दिएको कोषले आप्ना ५९ जना स्थायी कर्मचारीलाई समेट्न सकेको छैन । सरकारले निर्णय गर्न ढिलाई भएको भन्दै २०७६ मंसिरयता काेषका ५९ जना कर्मचारीबाट संकलन गरिएको रकम बैकमा राखिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली बताउँछन् । उनका अनुसार नेपाल सरकार अन्तरगत सञ्चालन गरिएको कोष भएका कारण सरकारले नै निर्णय गर्नुपर्छ । कोषमा आबद्ध हुनका लागि बोर्डबाट २०७६ चैतमा नै निर्णय गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाईएको थियो । सो फाइल श्रमले स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । ‘कोरोना महामारीको कारण केही ढिलाई हुन गएको हो ’, उनले भने । अर्थमन्त्रालयले दुइ  वर्षपछि स्वीकृति दिएकाे हाे । अर्थकाे स्वीकृतिपछि साे प्रस्ताव श्रम मन्त्रालयले जेठ पहिलो साता स्वीकृति लागि मन्त्रिपरिषद् पठाएकाे छ । प्रस्ताव पेश भएको १०/१२ दिन भएपनि निर्णय आइसकेको छैन । श्रम मन्त्रालयबाट अर्थमन्त्रालयमा पठाईएको प्रस्ताव दुई पटक फिर्ता भएको थियो । गत वर्षको साउन महिनाभित्रै निर्णय हुने तयारी भएपनि अर्थले निर्णय ढिलाई गर्दा दुई वर्षदेखि कोषका कर्मचारीहरु आवद्ध हुन पाएका छैनन् । ज्ञवालीका अनुसार मासिक रुपमा प्रतिकर्मचारीको १० प्रतिशत, सरकारले १० प्रतिशत र कोषको ८ दशमलव ३३ प्रतिशत गरी २८ दशमलव ३३ प्रतिशत रकम कटौँती गरि बैकमा जम्मा गरिएको छ । उनका अनुसार सामाजिक सुरक्षा कोष ऐनमा कोषका कर्मचारी आवद्ध हुन सरकारले तोक्ने व्यवस्था रहेको छ । ‘ऐनमा रहेको व्यवस्था अनुसार नै हामीले मन्त्रिपरिषद्को निर्णय कुरेर बसेका हौँ । देख्दा सजिलो जस्तो देखिए पनि प्रक्रिया धेरै हुँदा र पटक/पकट प्रस्ताव फिर्ता आउँदा समय लाग्यो’, उनले भने । थपिन थाले रोजगारदाता आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय व्यय वक्तव्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषमा जम्मा गर्नुपर्ने रकम मध्येमा जेठ र असार गरी २ महिनाको रकम सरकारले व्यहोर्ने बताएका थिए । बजेटमा उक्त कुरा आएपछि पछिल्लो दिनमा कोषमा जम्मा हुनेको संख्यामा बृद्धि हुन थालेको कार्यकारी निर्देशक ज्ञवाली बताउँछन् । उनका अनुसार बिहीबार ९ हजार बढी योगदानकर्ता (श्रमिक) आवद्ध भएका थिए भने शुक्रबार २ हजार बढी श्रमिक आवद्ध भएका छन् । कोषले सामाजिक सुरक्षा ऐन २०७४ ले निर्देशित गरेको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन गरेको थियो । संशोधित व्यवस्था अनुसार असारसम्म सूचीकृत हुनेलाई विशेष सुविधा दिएको र असार मसान्त नजिकिँदै गर्दा कोषमा आवद्ध हुनेको संख्या बढेको उनी बताउँछन् । सरकारले गत वर्ष चार महिना बराबरको (बन्दाबन्दी अवधिको चैतदेखि असार मसान्तसम्म) सामाजिक सुरक्षा कोषमा १ अर्ब १२ करोडभन्दा बढी रकम जम्म गरिदिएको थियो । रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । कोषमा योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी ४ वटा मुख्य योजना रहेका छन् ।

नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोहि मितिदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए । जसले जेठ १५ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका हुन् ।