नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुत्त
काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालकमा भरतराज वस्ती नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिमा नियुक्त गरेको हो । बैंकका सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा वस्ती नियुक्त भएका हुन् । कोषले वस्तीलाई सञ्चालकको रुपमा नियुक्त गरी पठाएपछि बैंक सञ्चालक समितिले उनलाई नियुक्ति दिएको हो ।
सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो । बैंठकले आगामी असार १ गतेदेखि लागु हुने गरि ज्ञवालीलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामा पछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा अनिल ज्ञवालीलाई नियुक्त गरिएको हो । नवनियुक्त स्वतन्त्र संचालक ज्ञवालीसँग बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।
निषेधाज्ञामा राहत दिँदैं प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, दैनिक ५१७ रुपैयाँ कमाउँछन् कामदार
ताप्लेजुङ । ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा सुरु भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता थियो । दैनिकजसो ज्यालादारी गर्दै आउनुभएका शेर्पालाई बन्दाबन्दीले काम नै पाउन छाडेपछि मनमा खटपट थियो । उनलाई जस्तै स्थानीयवासी कालुमाया विकलाई समेत बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता थियो । निषेधाज्ञा भएपछि शेर्पा र विकलाई मात्रै होइन, यहाँका निम्न आयस्तरका सबैलाई उस्तै पिरलो थियो तर निषेधाज्ञा सुरु भएको केही दिनमा नै गाउँमा प्रधानमन्त्री स्वरोजगारको कार्यक्रम सुरु भएपछि भने उनीहरूलगायत गाउँभरका मानिसालाई राहत मिलेको छ । बजार क्षेत्रमा पनि काम नपाइने र घरैमा बसिरहँदा पनि खर्च कताबाट जुटाउने भन्ने समस्यामा रहेका स्थानीयवासी अहिले गाउँमा सडक निर्माणमा जुटेका छन् । मास्कको प्रयोग गरी सामाजिक दूरी कायम गर्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा उनीहरू जुटेका हुन् । हाङ्देवा क्षेत्रका विभिन्न कच्ची सडक खण्डमा समूह समूह भएर सोलिङ गर्नेलगायत काममा स्थानीयवासी १२ भन्दा बढीले अहिले काम गरिरहेका छन् । विगतमा सम्पन्न भएको काममा लागेका र थप भएका काममा खटिएका गरी २५० भन्दा बढीले रोजगार पाएका छन् । पुरुषले ढुङ्गा फुटाउने र सोलिङ बनाउने काम गरिरहेका छन् भने महिलाले ढुङ्गा जम्मा गर्ने, ओसार्ने जस्ता काम गरिरहेका छन् । निषेधाज्ञा हुनुअघि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति गर्ने योजना सम्झौता भएको र लगत्तै गाउँमा बेरोजगार फर्म भरेकालाई काममा लगाइएको वडाध्यक्ष तारा बरालले बताइन् । ‘जो दैनिक काम नगरी बिहानबेलुका खाने कुरा जुटाउन सक्दैनन् उनीहरूलाई स्वास्थ्यका मापदण्डसहित काममा लगाएका छौँ’, अध्यक्ष बरालले भनिन् । यो बेला गाउँका सर्वसारधणको स्थिति हेर्दा सङ्क्रमणको जोखिमलाई हेरी स्वास्थ्य सुरक्षासहित रोजगारी दिनुपर्ने बाध्यता बनेको उनको भनाइ छ । कतिपय बेरोजगार फर्म नभरेका निम्नस्तरका पनि सहभागी छन् । उनीहरूले काम गर्ने इच्छा देखाएकाले काममा लगाइएको बताइएको छ । सङ्क्रमणले बन्दाबन्दी भएपछि रोजीरोटी गुमेका बेला गाउँघरमै काम पाउँदा स्थानीयवासी पनि खुशी छन् । कामदारले दैनिक ५१७ पाउँछन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित २८ लाखको लागतमा सैसले भुटाने चोक हुँदै गढी जाने सडक खण्ड, आसाङपाटी बैधारे हुँदै मित्लुङ जाने सडक र चिहानडाँडा दुवै सडक खण्डको स्तरोन्नतिलगायत काम भइरहेको बताइएको छ ।