शिखर अर्गनाइजेसनले दियो १२ खेलाडीलाई रोजगारी, थप २ हजार खेलाडीलाई दिने योजना
काठमाडौं । नेपाली व्यवसायीक समूह शिखर अर्गनाइजेसनले बुदोकैदो मार्सलआर्टसका १२ खेलाडीलाई रोजगारी दिएको छ । काठमाडौंको दशरथ रंगशालामा बिहीबार आयोजित एक विशेष कार्यक्रमकावीच संस्थाका अध्यक्ष केदारनाथ शर्माले सातै प्र्रदेशमा रहेका उद्योगहरूमा काम गर्ने गरि खेलाडीहरूलाई नियुक्ति पत्र प्रदान गरेका हुन । अध्यक्ष शर्माका अनुसार रोजगारी पाएका खेलाडीहरूले उद्योगहरूमा डिसिप्लेन अफिसर (अनुसाशन अधिकृत) का रुपमा काम गर्नेछन् । सँगै उनीहरूले सम्बन्धित प्रदेश अन्र्तगतका जिल्लामा बुदोकैदो मार्सलआर्टसको तालिम सञ्चालन गरेर नयाँ खेलाडी तयार गर्नेछन् । ‘खेलाडीहरूलाई जीविकामा सहयोग पुगोस र प्रोत्साहन होस भनेर नेपालको खेलक्षेत्रको विकासका लागि पनि सहयोग पुगोस भन्ने उदेश्यले हामीले खेलाडीहरूलाई रोजगारि दिएका हौं’ अध्यक्ष शर्माले भने । शिखर अर्गनाइजेसनले २ वर्षभित्र आफ्ना अन्य उद्योग तथा कम्पनीहरूमा २ हजार खेलाडीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने जनाएको छ । बुदोकैदो मार्सलआर्टस नेपालमा विकास गरिएको खेल हो । नेपाल बाहेक विश्वका केहि मुलुकमा समेत यो खेल खेलाइने गरिएको छ । व्यवसायीक घरानाबाट खेलाडीहरूलाई रोजगारीको अवसर सिर्जना हुँदा आफूहरु निकै उत्साहित भएको खेलाडी योगेन्द्र बोहोराले बताए । रोजगारी पाएकी खेलाडी शान्ति लामा खेल खेलेर काम पाइँदैन समय मात्रै बर्वाद हुन्छ भन्नेहरूको भिडमा शिखर अर्गनाइजेसनले खेलाडीलाई रोजगारी दिएर सराहनिय काम गरेको बताउँदै खुसि व्यक्त गरिन । बुदोकैदो मार्सलआर्टसका अध्यक्ष काजीमान श्रेष्ठले खेलाडीहरूका लागि यसरी राम्रो सुविधा सहित रोजगारीको अवसर सिर्जना हुँदा यसले नेपालमा विकास गरिएको बुदोकैदो मार्सलआर्टसलाई विश्वभरी चिनाउन सहयोग पुग्ने बताए । शिखर अर्गनाइजेशनले उपकार ब्राण्डमा चामल, दाल, तेल, विस्कुट, चिया, अचार, मह, खानेपानी लगायतका खाद्य सामग्रि तथा कृषि उपकरणहरूको उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।
इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन
काठमाडाैं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिमा आज भएको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले प्रभावित युवाहरूले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफूसमक्ष उजुरी दिएकाले तत्काल यो प्रक्रिया अघि बढाउनुपर्ने बताए । दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिड बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाई सम्पर्कका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए । समितिका सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पहल गर्नुपर्ने बताउनुभयो भने अर्का सदस्य डा खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीले नै पहल गर्नुपर्ने बताए । रासस
राधी विद्युतको स्वतन्त्र सञ्चालक र कम्पनी सचिवले सम्हाले जिम्मेवारी
काठमाडौं । राधी विद्युत कम्पनीका नवनियुक्त स्वतन्त्र सञ्चालक नितेश्वरप्रसाद कोइरी र कम्पनी सचिव लफिन काजी बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । हालै मात्र नियुक्त भएका उनीहरुले आज (साउन १४ गते) देखि आ-आफ्नो पदको जिम्मेवारी सम्हालेका हुन् । साउन १३ गते बसको सञ्चालक समितिको बैठकले कोइरीलाई स्वतन्त्र सञ्चालक र बज्राचार्यलाई कम्पनी सचिवमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालकमा सुनिता निरौला थिइन् । उनले राजीनालाई स्वीकृत गरी कम्पनीले उक्त रिक्त हुन लागेको पदमा कोइरीलाई नियुक्त गरेको हो ।