सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन् ।

अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो । भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको हो ।

उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत हुन् । उनी बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन् ।

सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका उपाध्यायले संस्थाको विकास र सुदृढीकरणमा योगदान पुर्याउँदै आएका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको नेतृत्वमा रहेर काम गरेको अनुभवसमेत उनीसँग छ ।

हाल बैंकिङ क्षेत्रले नीतिगत तथा व्यावहारिक चुनौती सामना गरिरहेको अवस्थामा उपाध्यायको नेतृत्वमा सिबिफिनले आफ्ना नीतिगत प्राथमिकता र भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उनको नेतृत्वले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासमा थप योगदान पुग्ने विश्वास सिबिफिनले जनाएको छ ।

Share News