काठमाडौं । युवा उद्यमी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा निर्वाचित भएका छन् ।
बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन् ।
गोयलको सञ्चालक समितिमा प्रवेशले बैंकको संस्थागत सुशासन र दीर्घकालीन मूल्य सिर्जनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, निजी क्षेत्र, वित्तीय संस्था, युवा नेतृत्व र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने उनको अनुभव बैंकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
झापाको बुद्धशान्ति स्थायी घर भएका गोयल विभिन्न व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । गोयल समूहसँग आबद्ध उनले उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएका छन् ।
व्यवसायसँगै गोयल सामाजिक तथा मानवीय क्षेत्रमा पनि सक्रिय छन् । सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सुरु भएको उनको सामाजिक अभियान ‘रोबिन हुड आर्मी नेपाल’ लगायत विभिन्न संस्थासँगको सहकार्यमा निरन्तर अघि बढेको छ ।
उनले खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत तथा कोभिड–१९ प्रतिकार्यलगायतका अभियानमा सक्रिय भूमिका निर्वाह गरेका छन् । ‘प्रोजेक्ट कुहिरो’ लगायतका पहलमार्फत स्वयंसेवक, संस्था, व्यवसायी तथा समुदायलाई जोड्दै स्रोत परिचालन र प्रत्यक्ष सहयोगमा पनि उनले काम गरेका छन् ।
युवा नेतृत्व र उद्यमशीलताको क्षेत्रमा समेत परिचित गोयलले नेपालिज यङ इन्टरप्रेन्योर्स फोरम (एनवाईईएफ) काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए । उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिप (एनसीपीएल) का सह–संस्थापकसमेत हुन् ।