सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बैशाख ५ गते साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजीनामा दिएसँगै बैठकले कामु सीईओमा पोखरेललाई नियुक्त गरेको हो । बैठकले सीईओ गुरुङ्गको राजीनामा आगामी बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले वि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र वि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए । उनले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप ३३ अर्व ८१ करोड, कर्जा ३१ अर्ब १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप ८७ अर्ब ८९ करोड, कर्जा ८१ अर्ब ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ ।

समता घरेलु लघुवित्तको सीईओमा डा. घिमिरे नियुक्त, ७ जनाको समिति गठन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे नियुक्त भएका छन् । गत बैशाख २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साविक समता लघुवित्त वित्तीय संस्थाको सीईओ डा. घिमिरेलाई सीईओ पदमा नियुक्त गरेको हो । गाभिएपश्चात बनेको समता घरेलु लुघवित्तका नवनियुक्त सीईओ डा. घिमिरेले बैशाख २ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् । यससँगै उनले अब ४ वर्षसम्म संस्थाको उक्त पदमा रहेको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । हालै साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको हो । त्यस्तै, सोहि दिनको बैठकले ७ जनाको सदस्यीय समिति गठन गरेको छ । जसमध्ये अध्यक्षमा डम्मरणमणि थेवे लिम्बु नियुक्त भएका छन् । त्यस्तै, संस्थापक सञ्चालकमा राजेश्वर प्रसाद आचार्य, रमेश कुमार प्रधान र कशोर शेर्पा नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकमा भक्तराम खड्का र अनुपा ओझा नियुक्त भएका छन् भने स्वतन्त्र सञ्चालकमा निरञ्जन पराजुली नियुक्त भएका छन् ।

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित, अध्यक्ष मल्लले गरे स्वागत

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका छन् । २००५ साल साउन १५ गते जन्मेका गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष थिए । हाल उनका हंशराज हुलासचन्द एण्ड को., हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध भएका थिए ।