उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडाैं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको रहनेछ । उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिंडारी थिए । न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एशोसिएशनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसकेका छन् । उनी यसैगरी, नागरिक ट्रष्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध छन् । उनी शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् । अर्थविज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायी न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । हाल उनी माछापुच्छ्रे बैंकका सञ्चालक समेत छन् । उनीसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरीमा महाप्रबन्धकका रुपमा दुई दशक लामो समय काम गरेको अनुभवसमेत छ । उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । सरकारले दुई वर्षपछि आफूलाई महाप्रबन्धकमा नियुक्त गरेको न्यौपानेले जानकारी दिए ।
आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, कसरी भर्ने फारम ?
काठमाडाैं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ । यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् । विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइटको अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ । विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौंको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ । विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ । श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । आवेदक आफैँले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ । विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ । बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ । अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा सेवाग्राहस्लाई थप सहज हुने विभागले विश्वास लिएको छ । रासस
ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो । यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।