जनशक्ति उत्पादनमा सघाउन पाेखरामा १७ करोडको परियोजना आरम्भ

पाेखरा । उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यसहित पोखरामा एक नयाँ परियोजनाको आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजनाअनुरुप गण्डकी प्रदेशमा मङ्गलबार शुरु गरिएको हो । पश्चिमाञ्चल होटल सङ्घ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घाटन कार्यक्रममा परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने जनाउँदै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । उनले उद्योग व्यवसायीलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यो उनीहरुले भनिदिनुपर्ने र सरकार तथा सम्बन्धित कलेज, युनिभर्सिटी वा तालिम केन्द्रले सोअनुसार जनशक्ति उत्पादन गर्न समन्वय गर्न सके राम्रो हुने धारणा राखे । परियोजनाका फोकल पर्सन रवीनकुमार श्रेष्ठले नेपाल सरकारद्वारा स्वीकृत यस परियोजनाको कार्यावधि १४ महिना रहेको र कूल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ रहेको जानकारी दिए । उनका अनुसार पेशागत वर्गीकरणसम्बन्धी स्ट्याण्डर्डको विकास गर्ने, श्रमबजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकतानुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने उद्देश्य छ । परियोजनाले कृषि, निर्माण र पर्यटन क्षेत्रलाई लक्षित गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, होटल सङ्घ नेपाल तथा निर्माण व्यवसायी महासङ्घको संयुक्त साझेदारीमा परियोजना सञ्चालन हुनेछ । युरोपियन युनियनले आर्थिक सहयोग गर्ने छ भने ब्रिटिस काउन्सिलअन्तर्गतको टिभेट प्राक्टिकल पार्टनरसीप परियोजनाको व्यवस्थापकीय सहयोगमा परियोजना कार्यान्वयन हुने जनाइएको छ । कार्यक्रममा पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष विकल तुलाचनले श्रमका लागि विदेशिने नेपालीलाई स्वदेशमै रोक्न र आवश्यकतानुसारको दक्ष जनशक्ति उत्पादनमा सघाउन परियोजना सफल हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घ उक्त परियोजनाका प्रादेशिक समन्वय संस्था पनि हो । यसैगरी होटल सङ्घ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले परियोजनालाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने जनाउँदै सार्वजनिक निजी साझेदारीको अवधारणानुसार आफ्नो संस्थाले सधैँ काम गर्ने बताए । रासस

पूर्व अर्थमन्त्री डा.खतिवडा अमेरिकाकोे राजदुतमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाकाे राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार राष्ट्रपति कार्यालयले उनलाई अमेरिकाकाे लागि राजदूतमा नियुक्त गरेकाे हाे । ‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा राजेश कुमार श्रेष्ठ नियुक्त

काठमाडौं । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरिएको हो । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । बैठकले श्रेष्ठलाई माघ १ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओ एवं कम्पनी सचिव पदमा नियुक्त गरेको हो । यससँगै, सीईओ श्रेष्ठले माघ १ गतेदेखि संस्थाको सीईओ र कम्पनी सचिवको कार्यभार सम्हाल्ने छन् । बैंकिङ क्षेत्रमा मात्रै २५ वर्षको कार्य अनुभव हासिल गरिसकेका श्रेष्ठले बीमा क्षेत्रको पनि ८ वर्ष अनुभव हासिल गरेका छन् । श्रेष्ठले १७ वर्ष नेपाल बैंकमा काम गरेका थिए । नेपाल बैंक छोडेपछि उनले ३ वर्ष एनसीसी बैंकमा काम गरेका थिए । एनसीसी बैंकपछि उनले ५ वर्षसम्म महालक्ष्मी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । महालक्ष्मी फाइनान्सपछि उनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । एशियनमा उनी ८ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । श्रेष्ठले आफ्नो २ कार्यकाल पूरा भएपछि गत साउन २१ गतेदेखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी छोडेर बसेका थिए । गुहेश्वर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका दिनेशलाल श्रेष्ठ केही दिनअघि मात्रै एशियन लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर आएका थिए । राजेशकुमार श्रेष्ठले छोडेको एशियन लाइफको सीईओ पदको जिम्मेवारी दिनेशलाल श्रेष्ठले सम्हाल्न लागेका छन् भने दिनेशलाल श्रेष्ठले छोडेको गुहेश्वरी मर्चेन्टको सीईओ पदको जिम्मेवारी राजेशकुमार श्रेष्ठले सम्हाल्न लागेका छन् ।