सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त, को हुन् उनी ?
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले शर्मालाई बुधबार बैंकको सीईओमा नियुक्त गरेको हो । यसअघि माछापुच्छ्रे बैंकको सीईओका रुपमा काम गरिसकेका शर्माले बुधबार नै सनराइज बैंकको सीईओका रुपमा कार्यभार सम्हालेका हुन् । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि नियुक्त गरेकाे हाे । बैंकका निवर्तमान सीईओ जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै उनी बैंकका सीईओका रुपमा भित्रिएका हुन् । पौडेलको सञ्चालकसँगको लफडाका कारण पौडेलले मंगलबार राजीनामा दिएकाे बुझिएकाे छ । शर्मासँग यसअघि ग्लोबल आईएमइ बैंक, एनएमबि बैंक, नेपाल एसबीआई बैंक लगायतका संस्थामा काम गरेको अनुभव छ । बैंक वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव भएका शर्मा कुशल व्यवस्थापकका रुपमा मात्र हाेइन कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् । एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् ।
स्वाभिमान लघुवित्तको सीईओमा चौधरीको निरन्तरता
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ चौधरीलाई अर्काे कार्यकालकाे लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । यससँगै सीईओ चौधरीको अर्को कार्यकाल आगामी फागुन १ गतेदेखि लागू हुने छ । बैंठकले उनलाई थप ४ वर्षको लागि नियुक्त गरेको हो ।
सनराइज बैंककाे डेपुटी सीईओमा आरती राणा नियुक्त, भन्छिन्ः कम्पनीलाई थप उचाईमा पुर्याउँछु
काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा रहेकी राणालाई माघ २६ गते बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पदमा बढुवा गरेको हो । विगत १९ वर्षदेखि नेपाली बैंकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा गत २०७६ कार्तिकमा सनराइज बैंकमा डीजीएमकाे पदमा आवद्ध भएकी थिइन् । उनले मार्केटिंग, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि लिएर बैंकिङ्गका विविध क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । त्यसअघि उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रूपमा कार्यरत थिइन् । जहाँ उनले कर्पोरेट, पूर्वाधार र परियोजना वित्त, ल्याबिलिटी मार्केटिंग र व्यवसाय प्रवर्धन, ब्रान्चलेस बैंकिङ्ग, डिजिटल बैंकिङ्ग, कार्ड र रेमिट्यान्स जस्ता विभिन्न विभागको जिम्मेवारी सम्हालेकी थिइन् । एसआइबीएम कलेज भारतको पुनेबाट एमबीए गरेकी बैंकर राणाले २००३ सालदेखि एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी हुन् । एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गरेकी हुन् । राणाले बैंकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिवद्धता जनाएकी छिन् ।