सुदूरपश्चिम प्रदेश: स्वरोजगारका लागि ७८ हजारको आवेदन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ । कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ । कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो । कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्डसमेत बनाएको छ । “प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको छ, तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने देखिन्छ”, प्रवक्ता डा अवस्थीले भने । उनले कृषितर्फ ३० देखि ३५ हजार र पशुपक्षीतर्फ ४५ देखि ५० हजार रकम प्रदान गर्ने योजना रहेको बताए । त्यसका लागि मन्त्रालयले १५ करोड बजेट विनियोजन गरेको छ । “सबैभन्दा बढी कैलालीबाट आवेदन परेको छ”, उनले भने, “व्यावसायको प्रगति हरेर दुई किस्तामा रकम दिने भनेका छौँ ।” सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् । रासस

व्यवसाय सञ्चालन गर्न १३ हजार बेरोजगार युवाले पेश गरे इच्छापत्र 

बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको आह्वानमा बैतडीका १३ हजारले इच्छापत्र पेश गरेका हुन् । कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमार्फत उक्त सङ्ख्या बेरोजगारले इच्छापत्र पेश गरेका हुन् । जसमा कृषि ज्ञान केन्द्रमा एक हजार ४०० ले इच्छापत्र पेश गरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रमा ११ हजार ६०० ले इच्छापत्र पेश गरेका हुन् । मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहबाट इच्छापत्र प्राप्त कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । उनले भने, “इच्छापत्र पेश गर्नेमा बढीजसो तरकारी र फलफूल खेती गर्न चाहने रहेका छन् ।” कोरोना महामारीले रोजगारी गुमाएका र इच्छा पत्र पेश गरेको व्यक्तिद्वारा १५ दिनभित्र प्रस्ताव माग गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । कोभिड-१९ को प्रभावले रोजगारी गुमाएर फर्केका र इच्छापत्र पेश गरेका युवालाई छिटो आम्दानी हुने कार्यक्रममा ५० प्रतिशत अनुदान दिइने बताइएको छ । प्रस्ताव पेश गर्दा विदेशबाट फर्केर १४ दिन क्वारेन्टाइन बसेको, स्वास्थ्य परीक्षण गरेको प्रमाण पत्र, कारोवार गर्न चाहने भए जग्गाधनी लालपुर्जा र गर्न चाहेको कामसहित प्रस्ताव पेश गर्नुपर्ने बताउनुभयो । अनुदान दिँदा एक व्यक्तिलाई ६० हजारसम्मको व्यवसायको लागि ५० प्रतिशत अनुदान दिइने कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै पशु सेवा विज्ञकेन्द्रमा इच्छापत्र पेश गर्नेमा बढीजसो बाख्रापालन, कुखुरापालन, गाईभैंसीपालन गर्ने रहेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका निमित्त प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । उनले भने, “प्रस्ताव पेश गर्न तिहारलगत्तै १५ दिने सूचना आह्वान गर्छौं, व्यवसाय हेरेर अनुदान रकम प्रदान गरिने छ ।” कोरोनाको प्रभावले चैत महिनायता रोजगारी गुमाएकाले उक्त कार्यक्रममा सहभागी हुन पाउने जनाएको छ । प्रमाण पुगेमा सबैलाई अनुदान दिइने बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये नौ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको हो । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आव २०७७÷२०७८ मा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारका विभिन्न कार्यक्रम अगाडि बढाएको हो । मन्त्रालयले कृषि क्षेत्रमा केही गर्न चाहने तथा कृषिमै सम्भावना देखेका व्यक्तिलाई राहत प्रदान गर्ने कार्यक्रम ल्याएको हो । जसको लागि प्रदेशको नौवटै जिल्लाका ८८ वटै स्थानीय तहबाट इच्छापत्र हाल्न आह्वान गरिएको थियो । कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई इच्छापत्र पेश गर्नसमेत सूचना जारी गरेको थियो । मन्त्रालयले असोज ६ गतेभित्र जिल्लास्थित कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, गाउँपालिका तथा नगरपालिकाको कृषि शाखामा इच्छा पेश गर्न अपिल गरेको थियो । कार्यक्रमअन्तर्गत छोटो अवधिमा आयआर्जन हुने र रोजगारी सिर्जना हुने आशा लिइएको छ । जसका लागि मन्त्रालयले बैतडीमा कृषि ज्ञान केन्द्रमा ६० लाख र पशुसेवा विज्ञकेन्द्रमा एक करोड ४० लाख रुपैयाँ पठाइसकेको छ । रासस

लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल र कोषाध्यक्षमा भोजराज बस्याल नियुक्त

काठमाडाैं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । आज (कार्तिक ३ गते) सम्पन्न संघकाे १४औं वार्षिक साधारण सभाले संघकाे रिक्त रहेकाे उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेकाे हाे । यससँगै, संस्थाकाे कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल नियुक्त भएका छन् । सभाले संघकाे कार्यसमितिमा हेरफेर गरी उपाध्यक्ष र कोषाध्यक्षसहित ५ जनालाई नियुक्त गरेकाे छ । त्यस्तै, नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटालाई नियुक्त गरेकाे छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा संचालन भएको सभाले आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७/७८ को वार्षिक कार्यक्रम तथा बजेट छलफल सहित पारित गरेकाे छ । संघले अनलाइन(जुम) मार्फत उक्त सभा सम्पन्न गरेकाे हाे । सभा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट उद्घाटन भएको थियो । उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल तथा डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल र्बैकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेल तथा नेपाल लघुवित्त र्बैकर्स संघका पूर्व-अध्यक्ष राम चन्द्र जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नरले संघले लघुवित्त क्षत्रमा देखिएका विकृितहरु रोक्न पहल गर्नु पर्ने र लघुवित्त संस्थाहरुले आफ्नाे उद्देश्य हासिल गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई समस्या नहोस् भन्ने तर्फ पनि सोच्नु पर्ने सल्लाह दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदै आएको छ । र, ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु यसका सदस्य छन् ।