नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय, सदस्यमा सन्तोष कोइराला र दीपक कुमार दे निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो । साथै, सभाले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एस.बि.आई. बैंकका सीईओ दीपक कुमार देलाई संघको कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । वार्षिक कार्यक्रमका प्रमुख प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिंदै मूल्य वृद्धि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था वचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै विदेशी मुद्राको संचिति पनि निकै राम्रो अवस्थामा रहेको बताए । गभर्नरले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन दिनुका साथै बैंकहरु मर्जरमा जान चाहेमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए । संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा तथा नबिल बैंकको पूर्व अध्यक्ष सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान-पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने बताए । यस्ताे बन्याे एनबीएकाे नयाँ कार्यसमिति
नेपाल राष्ट्र बैंकले मागेको पदको आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । शुक्रबारदेखि लागु हुने गरी खल्तीले यस्ताे सेवा सुरु गरेकाे हाे । नेपाल राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाईनमार्फत बुझाउन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी सजिलैसँग भुक्तानी गर्न सकिन्छ ।
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
काठमाडाैं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ । यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।