नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा ३४ वर्षको अनुभव

काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंककाे अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्षमा शम्भुप्रसाद पौड्यालको पदावधि सकिएसँगै बैंकले पौड्याललाई नयाँ अध्यक्षमा नियुक्त गरेकाे हाे । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन् । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो । सन् १९८६ मा ग्रिनलेज बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरे । १४ वर्ष ग्रिनलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ । सकियाे पौड्याल र अग्रवालको पदावधि नबिल बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो । २०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए ।

अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुनेछ: मन्त्री भट्ट

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा खनिज पदार्थको उत्खनन गरी रोजगारीको सिर्जना गर्न सकिने बताए । उनले भने, “अब हरेक क्षेत्रलाई रोजगारीसँग जोडेर अगाडि बढ्नुपर्छ”, मलखादमा प्रयोग हुने फस्फोराइडको नेपालमा उद्योग नरहेकाले दोगडाकेदारमा गरिएको परीक्षण सफल भए यहाँ उद्योग नै स्थापना गरिने उनले बताए । उनले भने, “उद्योग स्थापना भएपछि रोजगारीको समस्या हट्दै जानेछ ।” दोगडाकेदार गाउँपालिका–७ बसौरामा डोलोमाइड चट्टान पत्ता लागेपछि खानी तथा भूगर्भ विभागले रासायनिक मल बनाउने कारखानाका लागि डोलोमाइड चट्टान उत्खनन गर्ने तयारी गरेको हो । यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो । गाउँपालिकामा परीक्षण गरिएको स्थानमा फस्फोरस भएको पुष्टि भएमा यस क्षेत्रको आर्थिक समृद्धि र रोजगारीमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । फस्फोराइड खानीमा ५० मिटर गहिरो प्वाल पारेर परीक्षण गरिएको हो । रासस

सरकारको मुख्य सचिवमा वैरागी, आजै पदभार ग्रहण

काठमाडाैं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सरकारले आज नै लोकदर्शन रेग्मीले दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहेका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले आजै पदभार ग्रहण गरेका छन् । मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि आज नै उनको बिदाई गरिएको छ । सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उनको तीन वर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिएका हुन् । रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त भएका थिए ।