आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, कसरी भर्ने फारम ?

काठमाडाैं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ । यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् । विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइटको अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ । फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ । विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौंको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ । विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ । श्रम स्वीकृतिका लागि आवेदन गर्दाको ‘युजरनेम’ र ‘पासर्वड’ सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको इमेलमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । आवेदक आफैँले आवश्यकतानुसार प्रिन्ट गरेर राख्न सक्ने विभागले जनाएको छ । विभागले यसअघि नै म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्ने व्यवस्था मिलाइसकेको छ । बीमा र कल्याणकारी कोषको रकम अनलाइनबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले जनाएको छ । अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा सेवाग्राहस्लाई थप सहज हुने विभागले विश्वास लिएको छ । रासस

ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो । यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।

नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई सर्वसम्मत चयन

काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । यसअघि कम्पनीकाे अध्यक्ष पदकाे जिम्मेवारी रमेश कुमार निरौलाले सम्हालेका थिए । कम्पनीका संस्थापक सेयरधनी निरौलाले एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनलाई एसभीआरले फिर्ता बोलाएपछि कम्पनीकाे अध्यक्ष पद रिक्त रहेकाे थियाे ।