कात्तिकसम्ममा चार हजार २४८ उद्योग दर्ता, १८ हजार १२० जनालाई रोजगारी दिइने

वागमती । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । वाणिज्यका ४५ र उद्योग तर्फका २९ प्रतिष्ठान खारेज भएको बताइएको छ । विगत चार महिनामा सो कार्यालयले उद्योग दर्ता र नवीकरणवापत एक करोड ४९ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । सो अवधिमा ४११ उद्योगको नवीकरण र २५ उद्योगको नामसारी तथा १२ उद्योगको ठाउँसारी भएको स्वीकृति प्रदान गरिएको दाहालले बताए । त्यस्तैगरी वाग्मती प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयमा चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म चार हजार २४८ उद्योग दर्ता भएको छ । साउनदेखि कात्तिकसम्म उक्त मन्त्रालयमा एक हजार ५६८ वाणिज्य र २६३ वटा पर्यटन व्यवसाय दर्ता भएको बताइएको छ । चालू आर्थिक वर्षको चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार १२० जनालाई रोजगारीको सिर्जना हुने बताइएको छ । त्यसैगरी सो अवधिमा मन्त्रालयले विभिन्न शीर्षकमा प्राप्त आन्दानी ११ करोड दुई लाख रुपैयाँ प्रदेश सरकारको सञ्चित कोषमा राजश्वसमेत जम्मा गरेको छ । यसैगरी, कोभिड-१९ को समयमा प्रदेश सरकारले २४ लाख ७७ हजार रूपैयाँ उद्योग पर्यटन व्यवसायलाई छुट दिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । त्यस्तै चालू आर्थिक वर्षको उक्त अवधिमा १४९ पटक गरेर कूल ९४७ व्यवसायी प्रतिष्ठानको अनुगमनसमेत गरिएको छ । त्यस्तै १६३ उद्योगमा अनुगमन भएको तथा ५९ फर्मलाई कारवाही गरिएको उनले बताए । यसै सम्बन्धमा हेटौंडा ओद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले कोरोनाका कारण साना तथा ठूला उद्योगको अवस्था नाजूक रहेको बताए । हेटौंडा ओद्यौगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये अधिकांश पूर्ण क्षमतामा सञ्चालन अवस्थामा नरहेको उनको भनाइ छ । हेटौंडाका काष्ठ उद्योगी रामपुकार ठाकुरले उत्पादन एवं निर्माण गरिएको सामानको बजारमा बिक्री वितरण कम रहेको गुनासो गरे । रासस

लोकसेवा आयोगले माग्यो ३ सय ६० जना अधिकृत

काठमाडौं । सरकारी सेवामा जागिर खोज्नेहरुका लागि अवसर आएको छ । लोकसेवा आयोगले विभिन्न सेवाका लागि ३ सय ६० जना अधिकृत पदमा दरखास्त आव्हान गरेको छ । आयोगले बुधबार सार्वजनिक सुचना प्रकाशित गरी सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो । आयोगका अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलाबाट ६७ जना, महिलाबाट १८ जना, आदिवासी जनजातिबाट १४ जना, मधेसीबाट ११ जना, दलितबाट ६ जना, अपांग र पिछडिएको क्षेत्रबाट २/२ जना अधिकृतको लागि दरखास्त आव्हान गरिएको हो । सामान्य प्रशासनतर्फ खुल्लाबाट ४४ जना, लेखामा ३४ जना, राजश्वमा ४१ जना, लेखापरीक्षणमा १२ जना र परराष्ट्र सेवाका लागि एकजना अधिकृत माग गरिएको छ । महिलाका लागि प्रशासनतर्फ १२ जना, लेखामा ९ जना, राजश्वमा ११ जना, लेखापरीक्षणमा २ जना माग गरिएको छ । आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८ जना, राजश्वमा ९ जना र लेखापरीक्षणमा २ जना अधिकृत माग गरिएको छ । मधेसी कोटामा प्रशासनमा ८ जना, लेखा ६ जना, राजश्व ८ जना, लेखापरीक्षणमा २ जना र परराष्ट्रमा १ जना अधिकृत मागिएको छ । आयोगले दलित कोटामा सामान्य प्रशासनमा ३ जना, लेखामा २ जना, राजश्वमा २ जना र लेखापरीक्षणमा १ जना अधिकृत मागिएको छ । अपांगता भएकाहरुका लागि प्रशासनमा २ जना, लेखामा २ जना, राजश्वमा २ जना र लेखापरीक्षणमा एक जना माग गरिएको छ । यस्तै, पिछडिएको क्षेत्रका लागि प्रशासनमा २ जना, लेखामा १ जना र राजश्वमा २ जना अधिकृत मागिएको छ । फाराम भर्ने म्याद पुस १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ । आवेदन दस्तुर १ हजार रुपैयाँ छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले प्रत्येक समुहको लागि ४ सय रुपैयाँ थप बुझाउनु पर्नेछ । आवेदन गर्नेहरुको न्यूनमत शैक्षिक योग्यता कम्तिमा पनि स्नातक तहसम्मको अध्ययन पूरा गरेको हुनुपर्छ । [pdf id=249735]

अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्सको सञ्चालकमा कल्याण बन्धु अर्याल नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो । बैठकले कम्पनीको आगामी हुने तेस्रो वार्षिक साधारणसभाबाट नियुक्त हुने सञ्चालकले प्रतिनिधित्व नगरेसम्मको लागि संस्थापक सेयरधनी अर्याललाई सञ्चालक पदमा मनोनित गरी नियुक्त गरेको हो । यससँगै नवनियुक्त अर्यालले कम्पनीको आगामी साधारणसभा नभएसम्म कम्पनीको सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।