रेल्वे कम्पनीले माग्यो १ सय २९ कर्मचारी, सामान्य लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदको लागि एक सय २१ जना कर्मचारी मागेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि सो मात्राको दरखास्त आव्हान गरेको हो । सोमबार प्रकाशित विज्ञापन अनुसार कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू माग गरेको छ । जसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको लागि कर्मचारी माग गरेको छ । त्यस्तै, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत कम्पनीले विज्ञापन खुला गरेको छ । यससँगै, इच्छुक आवेदकले आगामी असोज १२ गतेभित्र रेल्वे कम्पनीको वेबसाइट मार्फत् विभिन्न विज्ञापनमा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले अधिकृतको लागि एक हजार रुपैयाँ, सहायक स्तरको लागि चार सय रुपैयाँ र श्रेणी विहिन स्तरको लागि तीन सय रुपैयाँ दस्तुर तोकेको छ।
खानेपानी विभागको पहिलो महिला महानिर्देशकमा मीना श्रेष्ठ नियुक्त
काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन् । यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत थिइन् । यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो । श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए । श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ थिए । ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।’ प्रवक्ता शाक्यले भने । निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाईएको छ । मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० बर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन् । नेपाल भित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो । त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल भएकी छिन् । वरिष्ठताको आधारमा पनि अगाडि रहनुभएकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ । विभागमा हालसम्म करिव दुई दर्जन जति महानिर्देशक हुँदा पहिलोपटक महिला महानिर्देशक नियुक्त हुनुमा मन्त्री मगरकै चाहाना प्रमुख रहेको मन्त्रालय स्रोतले बतायो । यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्। वि.सं २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी छिन् । नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरे । २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन् । स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उनी २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी हुन् । सरकारको अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएका तथा महिलालाई अवसर नदिएको जस्तो आरोप लागिरहेको समयमा खानेपानी विभागमा भने वरिष्ठता र महिला दुवै विषयको सम्मान गर्दै श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी सुम्पिएपछि विभागकै अन्य कर्मचारीहरुले पनि मन्त्रीको प्रशंसा गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुशासनको पैरवी गर्दै आएका खानेपानी मन्त्रालयका पूर्व सचिव भीम उपाध्याय अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएको तथा सम्मान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको समयमा खानेपानी विभागमा वरिष्ठतालाई मन्त्रीले सम्मान गर्दा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् । ‘पछिल्लो समय सरकारले गरेको नियुक्तिमा निकै विवाद आइरहेको बेला खानेपानी मन्त्रीले वरिष्ठ कर्मचारीलाई विभागको जिम्मेवारी दिनु सकारात्मक छ । यसले त्यहाँ कार्यरत अन्य कर्मचारीलाई पनि मोटिभेसन हुन्छ र परिणाम पनि सकारात्मक आउँछ’, उपाध्यायले भने । श्रेष्ठले आफुलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताइन् । ‘पक्कै पनि विभागको प्रमुख हुँदा काम गर्ने अवसर र चुनौतीहरु धेरै छन् । तर, मन्त्रीज्यू, मन्त्रालयको सहयोग, मेरो अनुभव र सबै कर्मचारीहरुको सहयोगबाट लक्ष्य पूरा गर्न सफल हुने ठानेकी छु’, उनले भने । आफूले मन्त्रालय र मन्त्रीको स्पिडसँग काम गर्दै विभागलाई त्यही अनुरुप अघि बढाउने स्पष्ट पारे। पछिल्लो समय कोभिड–१९ को महामारीले सरसफाइको महत्व थप स्पष्ट पारेको बताउँदै श्रेष्ठले ‘वाटर सप्लाई र स्यानिटेसन’को क्षेत्रमा मुख्य रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । ‘कोभिड महामारीले पनि हामीलाई सरसफाई, पानीको उपयोग, ढल व्यवस्थापन जस्ता विषयमा महत्वपूर्ण सन्देश दिएको छ । यी क्षेत्रमा विभागले प्रभावकारी ढंगले काम गर्नुपर्छ र यसमा विभाग पूर्णरुपमा लाग्नेछ’, श्रेष्ठले भने । विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ । विभाग अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, गुण, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन् । विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई र वासमिप आयोजनाहरु सञ्चालनमा रहेका छन् । रासस
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
कोरियामा काम गर्दै गरेका नेपाली सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो । यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बोलाउनेलगायतका कारण नियमित पाइरहेको आम्दानीमा गिरावट आउने तथा समयमा तलब पाउनसमेत मुस्किल भएको यहाँ श्रम गरिरहेका नेपालीहरूको भनाइ छ । यद्यपि एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले यो महामारीमा कोरियामा आम्दानी तथा काम घटे पनि विदेशी कामदारहरू विशेषगरी नेपालीहरू अझै सुरक्षित रहेको बताए ।उनले कम्पनी बन्द भई बोरोजगार भएँ भन्ने एकाधबाहेक सुन्नु नपरेको र थोरै भए पनि आम्दानी भइरहनु सुखद भएकाे उनले बताए । कोरियामा श्रम गर्ने नेपालीहरूको भिसा (इ–९) बलियो हुने र उनीहरूलाई कुनै समस्या परे श्रम नियमानुसार अधिकार लिन र कम्पनी परिवर्तन गरेर भए पनि रोजागरी बचाइराख्न सक्ने भएका कारण नेपालीहरूलाई खासै चिन्ता नहुने उनको धारणा छ । यहाँका मझौला तथा ठूला कम्पनीहरू विशेषतः बाह्य निर्यातमा निर्भर रहन्छन् । कोरोना माहामारीका कारण निर्यात घट्दा त्यसको प्रत्यक्ष असर साना कम्पनीलगायतमा पर्दा यहाँको श्रमबजारमा अत्यधिक उथलपुथल देखिएको हो । रासस