चौधरी ग्रुपमा २५ जनालाई जागिर खुल्यो
काठमाडौं, ८ भदौ । चौधरी ग्रुपमा २५ जनाका लागि जागिर खुलेको छ । चौधरी ग्रुपले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा २५ जनाका लागि आवेदन खुल्ला गरेको हो । बिबिएस, बिटेक, बिई, सिए र एमबिए उतिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । चौधरी ग्रुपका अनुसार कर्पाेरेट फाइनान्स हेड, कार्यकारी कर्पाेरेट फाइनान्स, हेड एकाउन्टेन्ट, एचआर मेनेजर, कमर्सियल हेड, प्रडक्सन हेड, आइटी प्रमुख, आर्किटेक्ट, अपरेशन हेड, प्रडक्सन इन्चार्ज लगायतका पदमा आवेदन मागिएको हो । छनौटमा परेकाहरुले चौधरी समुहको टोबाको, ब्रुअरी, गेष्ट हाउस, इलेक्ट्रिोनिक्स लगायतका क्षेत्रमा काम गर्नुपर्नेछ । सेप्टेम्बर २ तारिख भित्र आवेदन दिईसक्नुपर्ने चौधरी समुहले जनाएको छ ।
अट्ठाइस हजार स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी
काठमाडौं, ७ भदौ । सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षा ऐन २०२८ आठौँ संशोधन पछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार ती शिक्षको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेकोे छ । ती विज्ञापनमा अस्थायी शिक्षकलाई स्थायी हुन मौका दिनका लागि तीन प्रकारको र खुल्ला नियुक्तिका लागी एकै प्रकारको विज्ञापन गर्ने सोच मन्त्रालयको छ । विस २०४९ पुस २० भन्दा अगाडिदेखि ७२/असोज २ गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने प्रवक्ता डा लम्सालले बताए । अस्थायीका लागि तीन आन्तरिक विज्ञापनमा पहिलो विसं २०४९ पुस २० गतेभन्दा अगाडि अस्थायी नियुक्त हुनेका लागि, दोस्रो २०४९ साल पुस २० गतेदेखि २०६१ साल साउन २९ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको वा अस्थायी शिक्षकको लागि र २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म ४९ प्रतिशत रिक्त पदको दरबन्दी वा सो दरबन्दीमा लियन, अस्थायी र सट्टा शिक्षकका रुपमा काम गर्नेका लागी विज्ञापन गरिने भएको हो । यसैगरी खुला विज्ञापनमा २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म रिक्त पदको ५१ प्रतिशत खुला र ४९ प्रतिशत आन्तरिक विज्ञापन गरिने छ । तर ४९ प्रतिशत आन्तरिकमा भने उल्लेखित आन्तरिक परीक्षामा सहभागी नभएकाले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । मन्त्रालयका प्रवक्ता डा लम्सालले भने – ‘‘चाँडै नै विज्ञापन गर्ने तयारी भइरहेको छ । हामीले अहिले कहाँ–कहाँ दरबन्दी रिक्त छ भनेर विवरण सङ्कलन गरिरहेका छौ, यसबाट अस्थायी शिक्षक र रिक्त दरबन्दी थाहा हुन्छ ।’’ अस्थायी शिक्षकले सुविधा लिएर बिदा हुने वा आन्तरिक वा खुला प्रतिस्पर्धामा भाग लिने भनेर शिक्षकको व्यक्तिगत विवरण लिने उनले बताए। रासस
नियमावली नबन्दा शिक्षक सरुवा प्रभावित
काठमाडौँ, ७ भदौ । नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ । सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँचवर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कसरी कार्यान्वयन हुने भन्ने नियमावलीमा स्पष्ट पार्न बाँकी छ । गत असार १५ मा कार्यान्वयनमा आएको शिक्षा ऐन (आठौँ संशोधन)मा ‘एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पूरा गरेको स्थायी शिक्षकलाई तोकिए बमोजिमको मापदण्डको आधारमा जिल्ला शिक्षा अधिकारीले आफ्नो जिल्ला भित्रको, क्षेत्रीय निर्देशकले आफ्नो क्षेत्रभित्रको र शिक्षा विभागले नेपालको कुनै पनि विद्यालयमा सरूवा गर्नसक्ने’ व्यवस्था छ । ऐन आउनु पूर्व सम्बन्धित विद्यालयबीच सहमति भइसकेका सरुवाका फाइल पनि शिक्षा मन्त्रालयको निर्देशनमा रोक्का भएको छ । शिक्षक सेवा आयोगले पनि निमावि र मावि तहको शिक्षक पदपूर्तिका लागि शिक्षा विभाग मार्फत रिक्त शिक्षकको विवरण माग गरेको छ । नेपाल शिक्षक महासङ्घले निजामतीमा जस्तो आफूखुसी सरुवामा शिक्षकलाई पार्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । महासङ्घका अध्यक्ष केशव निरौलाले भने – “शिक्षकको सहमतिबिना सरुवा गर्नसक्ने प्रावधानले शिक्षक सरुवाको दफा दुरुपयोग हुनसक्ने भएकाले त्यस्तो व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने माग गरेका छौ ।” ऐनको कार्यान्वयनका लागि नियमावली संशोधनमा जुटिरहेको शिक्षा मन्त्रालयमा शिक्षामन्त्री र शिक्षा सचिव पद रिक्त भएका कारण पनि निर्णय हुनसकेको छैन । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले नयाँ मापदण्ड तयार नभएसम्मका लागि शिक्षक सरुवा रोक्का गरिएको बताए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले शिक्षकलाई सरकारले आवश्यकता अनुसार विन्यास गर्न सकिने भए पनि हाल कायम ६३ हजार अपुग दरबन्दी पूर्तिको व्यवस्थापन नगरी पञ्चायतकालमा जस्तो आस्थाका आधारमा शिक्षकलाई सरुवा गर्न सकिने नीति अमान्य भएको जनाए । हाल करिब ३४ हजार सामुदायिक विद्यालयमा सवा लाख शिक्षक छन् । ऐनमा भनिएको छ – ‘अविच्छिन्न रूपमा कार्यरत रहेका अस्थायी शिक्षकले सुविधा लिई अवकाश लिनका लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने र उत्तीर्ण हुन नकसेका अस्थायी शिक्षक स्वतः अवकाश भएको मानिनेछ । यस अनुसार हुने विज्ञापनमा राहत शिक्षकको लागि उमेरको हद लाग्ने छैन ।’ यसका लागि शिक्षा विभागले रिक्त शिक्षकको विवरण माग गरिसकेको छ । रासस