राष्ट्र बैंकमा जागिर खुल्याे, तलब र सेवा सुविधा आकर्षक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियर र सवारी चालकका लागि आवेदन माग गरेकाे छ । बै‌ंकले बिशीबार एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि अावेदन माग गरेकाे हाे । सूचना मार्फत करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी दिएको छ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ । सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने सूचना मार्फत बताइएकाे छ । इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।

रुकुम–पूर्वमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

रुकुमपुर्व । रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो । सूचकाङ्कमा कमजोर समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमको लागि अहिले जिल्लाबाट ३२ वटा योजना छनोट भएका छन् । जसमा चालुतर्फका २२ वटा र पुँजिगत तर्फका १० योजना छन् । यस वर्ष सिस्ने गाउँपालिकामा १२ कार्यक्रम सञ्चालन हुने छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा दश/दश वटा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले बताए । कार्यक्रम सञ्चालनको लागि तीन गाउँपालिकामा ६० लाखका दरले रु एक करोड ८० लाख बजेट आएको छ । जिल्ला समन्वय समितिले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको संयोजक गौतमले बताए । लक्षित वर्ग, स्थानीय तह र गैरसरकारी संस्थासँगको सहकार्य एवं सहभागितामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमले गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच तथा सीप विकासका कार्यक्रममार्फत लक्षित वर्गको क्षमता वृद्धि र सशक्तीकरण गर्ने, स्वरोजगारी तथा आयआर्जनका क्रियाकलापमा प्राथमिकता दिने छ । सामाजिक संरक्षणसम्बन्धी कार्यक्रमअन्तर्गत असहाय अशक्त, अपाङ्ग भएका व्यक्तिहरूको पुनःस्थापनासम्बन्धी गतिविधि सञ्चालन गर्ने र कुनै प्रकोप तथा घटनाबाट घरवारविहीन भएका परिवारलाई सहयोग गरिने कार्यक्रम संयोजक गौतमको भनाइ छ । यस वर्ष भने कोरोना महामारीको चपेटामा परेकालाई मध्यनजर गर्दै मागमा आधारीत उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने जिल्ला कार्यक्रम संयोजक गौतमले बताए । रासस

रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार

काठमाडौं । रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार नियुक्त भएका छन् । फाइनान्सको आज (असोज ५ गते) दिनको ३ बजेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक तण्डुकारले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।