‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमबार शुभकामना मन्तव्य दिनुहुँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुपै्रलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए । “कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।” प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाए । उनले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए । समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताए । “नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उनले भने, “शून्य संरचनाबाट काम शुरु गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।” गरिबीको अन्त्य गरेर समृद्ध कर्णाली बनाउनु निकै चुनौतीपूर्ण भए पनि जलविद्युत् उत्पादनका लागि आवश्यक वातावरण तयारीको पहल भइरहेको उनले बताए । उनले भने, “कठिन भूगोल र आर्थिक स्रोत न्यून हुँदा पनि चुनौतीको सामना गरेर अघि बढेका छौँ । निजी लगानीकर्ता भित्र्याउने पहल भइरहेको छ र कर्णालीमा लगानी सम्मेलनका आवश्यक वातावरण तयार गर्दैछौँ ।” प्रदेश सभामुख राजबहादुर शाहीले प्रदेश सरकार शून्य अवस्थाबाट आकारमा आइसकेकाले आफ्नो अभिभारा पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले सङ्घीय व्यवस्था ल्याउने जनताको हितमा काम गरेर आगामी दिनमा प्रभावकारी योगदान दिन सकोस् र तीनै तहका सरकारहरुको सहकारितामा विकास गतिविधि अघि बढुन् भन्ने चाहन्छु ।” लोकतन्त्रको सुन्दर पक्ष भनेकै जवाफदेहिता र पारदर्शिता हो भन्दै सभामुख शाहीले सङ्घीयताप्रति उठेका प्रश्नहरुलाई सकरात्मक लिनुपर्नेमा जोड दिए । उनले कार्यकारीहरुलाई दूरगामी सोच राखेर काम गर्नसमेत सुझाव दिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली आज पनि गरिबीको दुश्चक्रबाट माथि उठ्न नसकेको जिकिर गरे । “हामीले हाम्रो सोच र सपनालाई संस्थागत गर्ने सङ्घीय संरचनाको अपेक्षा गरेका थियौँ”, मन्त्री भण्डारीले भने, “यद्यपि संविधानप्रदत्त अधिकारको प्रयोग गर्ने सवालमा प्रदेश सरकारले अन्योलता व्यहोर्दै आएको छ ।” समारोहमा प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो ज्यान दिने शहीद परिवार, कोरोना महामारीमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान तथा फुटबल तथा ब्याटमिन्टन खेलमा पहिलो, दोस्रो हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त समारोहमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित देउडा खेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतका कलाकारले नृत्य तथा मार्सल आर्ट्सका खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए । रासस

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल, बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । माघ २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । नवनियुक्त कामु सीईओ लम्सालले केन्द्रिय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफु केन्द्रित हुने बताएका छन् ।

एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् । आइतबार बैंक सञ्चालक समितिले खड्कालाई चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । आफूले लिएको जिम्मेवारी पूरा गरेर छोड्ने र मनमा लागेको कुरा प्रष्ट बोल्ने खड्का सफल बैंकर्सको रुपमा परिचित छन् । उनी एनसीसी बैंकमा मर्ज हुनुपूर्वको इन्टरनेशल डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका खड्काले ८ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । खड्कासँग दुई दशक भन्दा बढी विभिन्न बैंकमा काम गरेको अनुभव छ । नविल बैंकबाट बैकिङ करिअर शुरु गरेका खड्काले एभरेष्ट बैंक, तत्कालित एनआईसी बैंक, सनराइज बैंकमा विभिन्न पदमा रहेर बैकिङ सेवा गरेका थिए । इन्टरनेशल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी बैकिङ क्षेत्रबाट बाहिरिएका थिए । हाल उनी शुभलक्ष्मी सिमेन्ट प्रालिको प्रबन्ध निर्देशक छन् । खड्काकाे नियुक्तीसँगै एनसीसी बैंककाे सञ्चालक समितिले पूर्णता पाएकाे छ । दुइ साताअघि सम्पन्न भएकाे साधारणसभाले एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा र सुमन जोशी सर्वसम्मत निर्वाचित गरेकाे थियाे । सञ्चालक समितिबाट न्याैपाने सर्बसहमतिमा अध्यक्ष भएका छन् । यस बैंकमा पहिलाे पटक सर्बसहमतिमा सञ्चालक समिति गठन भएकाे र सर्ब सहमतिमा बिज्ञ सञ्चालक पनि नियुक्त भएकाेले बैंक आगामी दिनमा एक ढिक्का भएर अगाडि बढ्ने विश्वास गरिएकाे छ ।