आयातबाट आत्मनिर्भरतासम्म सिमेन्ट उद्योगको रूपान्तरणमा नबिल बैंकको साथ
काठमाडौं । सहरका अग्ला भवन, तराईलाई पहाडसँग जोड्ने राजमार्ग, नदीमाथि निर्माण भएका पुल, जलविद्युत् आयोजना, औद्योगिक करिडोर र मुलुकभर विस्तार भइरहेका आवासीय परियोजनालगायत सबै विकास संरचनाको साझा आधार हो- सिमेन्ट । पूर्वाधार निर्माणको मेरुदण्ड मानिने सिमेन्ट उद्योगले पछिल्लो दुई दशकमा नेपालको अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याएको छ । एक समय आफ्नै आवश्यकताका लागि अधिकांश सिमेन्ट विदेशबाट आयात गर्ने नेपाल आज आत्मनिर्भर मात्र बनेको छैन, निर्यातको सम्भावना बोकेको मुलुकका रूपमा पनि उभिएको छ । यो परिवर्तनमा उद्योगीको लगानी वा प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रको दीर्घकालीन वित्तीय साथ पनि उत्तिकै महत्त्वपूर्ण छ । यही यात्रामा नबिल बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्दै देशका १० वटा सिमेन्ट उद्योगमा गत आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ८ अर्ब ८० करोड ६४ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । यी उद्योगहरूको सुरुवातदेखि नै बैंकले लगानी गर्दै आएको हो । यो लगानी केवल वित्तीय कारोबार नभएर पूर्वाधार निर्माण, औद्योगिकीकरण, रोजगारी सिर्जना र समृद्ध नेपालको आधार निर्माणमा गरिएको दीर्घकालीन प्रतिबद्धता भएको बैंकले जनाएको छ । आजभन्दा दुई दशकअघि नेपालको अवस्था फरक थियो । देशभित्र सिमेन्ट उत्पादन गर्ने उद्योगहरू सीमित थिए । निर्माण सामग्रीको बढ्दो माग पूरा गर्न भारतलगायत अन्य मुलुकबाट ठूलो परिमाणमा सिमेन्ट आयात गर्नुपर्ने अवस्था थियो । यसले विदेशी मुद्रा बाहिरिने मात्र होइन, निर्माण क्षेत्रलाई समेत आयातमा निर्भर बनाएको थियो । आर्थिक उदारीकरणपछि निजी क्षेत्रको लगानी बढ्दै गयो । आधुनिक प्रविधियुक्त सिमेन्ट उद्योग स्थापना भए । स्वदेशमै प्रशस्त मात्रामा उपलब्ध चुनढुंगा, माटो तथा अन्य कच्चा पदार्थको उपयोग गर्दै उद्योगहरूले उत्पादन क्षमता विस्तार गरे । परिणामस्वरूप नेपालले छोटो अवधिमै आयात प्रतिस्थापनको सफल उदाहरण प्रस्तुत ग¥यो । आयात प्रतिस्थापन र पछि गएर निर्यातसमेत गर्न सकिने तथा चुनढुंगाजस्ता कच्चा पदार्थ पनि पर्याप्त भएकाले सरकारले सिमेन्ट उद्योगलाई सडक र विद्युत्को पहुँच उपलब्ध गराउने निर्णयसमेत ग¥यो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले भने, ‘हामीले सिमेन्टको महत्त्व बुझेर पहिलेदेखि नै यस क्षेत्रमा लगानी गरिरहेका थियौँ । सरकारले पनि प्राथमिकता दिएपछि हामीले यस क्षेत्रलाई थप प्राथमिकतामा राखेका हौँ ।’ नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष तथा कसमस सिमेन्ट उद्योगसँग आबद्ध उद्योगी ध्रुवराज थापाका अनुसार नेपालको सिमेन्ट उद्योगले पछिल्लो १०-१२ वर्षमा गरेको प्रगति असाधारण छ । ‘करिब २० वर्षअघि नेपालले आवश्यक सिमेन्टको झन्डै ८५ प्रतिशत आयात गथ्र्यो। आज हामी आत्मनिर्भर छौँ। पछिल्ला वर्षहरूमा निर्यातसमेत गरिरहेका छौँ,’ थापाले भने । उनका अनुसार नेपालले लगभग शून्य अवस्थाबाट उद्योग स्थापना गर्दै छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको छ । अहिले विभिन्न चुनौतीका बाबजुद नेपालबाट वार्षिक करिब ५ देखि ७ अर्ब रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भइरहेको छ । उद्योगले पूर्ण क्षमता उपयोग गर्न सके यो निर्यात १०० देखि १५० अर्ब रुपैयाँसम्म पुग्न सक्ने थापाको विश्वास छ । बैंकिङ क्षेत्र: उद्योगको अदृश्य मेरुदण्ड एउटा आधुनिक सिमेन्ट उद्योग स्थापना गर्न अर्बौं रुपैयाँ लगानी आवश्यक पर्छ । खानी विकासदेखि क्लिंकर प्लान्ट, ग्राइन्डिङ युनिट, विद्युत् पूर्वाधार र आधुनिक उपकरणसम्म ठूलो लगानी आवश्यक पर्ने भएकाले बैंकिङ क्षेत्रको सहकार्य अपरिहार्य हुन्छ । उद्योगी थापाका अनुसार कुनै पनि उत्पादनमूलक उद्योगको विकासमा बैंकहरूको भूमिका निर्णायक हुन्छ । ‘हामीले लगभग शून्य अवस्थाबाट उद्योग सुरु गरेका थियौँ। उद्योग आजको अवस्थामा पुग्नुमा बैंकहरूको लगानी नै मुख्य आधार हो। नबिल बैंकले सुरुदेखि नै सिमेन्ट उद्योगमा लगानी गर्दै आएको छ र उद्योगको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ,’ उनले भने । उत्पादनमूलक क्षेत्रमा नबिल बैंकको प्रतिबद्धता उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार नबिल बैंकले विभिन्न सिमेन्ट उद्योगको स्थापनाकालदेखि नै लगानी गर्दै आएको छ । हाल देशका १० वटा सिमेन्ट उद्योगमा ८ अर्ब ८० करोड ६४ लाख ९२ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । यो लगानीले उद्योगको उत्पादन क्षमता विस्तार, प्रविधिको आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणमा प्रत्यक्ष योगदान पु¥याइरहेको छ । सिमेन्ट उद्योगको प्रभाव केवल कारखानासम्म मात्र सीमित छैन । उद्योग स्थापना भएका क्षेत्रमा सडक विस्तार भएका छन्, विद्युतको पहुँच बढेको छ तथा स्थानीय यातायात, होटल, व्यापार, निर्माण सामग्री आपूर्ति र सेवा क्षेत्र विस्तार भएका छन् । हजारौँले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने स्थानीय सरकारको राजस्वसमेत बढेको छ । यसरी सिमेन्ट उद्योगले स्थानीय स्रोत-साधनको उपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ । उद्योगले उल्लेखनीय प्रगति गरेको भए पनि निर्माण क्षेत्रको सुस्तता, ऊर्जा लागत, ढुवानी खर्च, बजार मागमा आएको कमी तथा उत्पादन लागत वृद्धिले उद्योगलाई दबाबमा राखेको छ । उद्योगीहरूका अनुसार अबको आवश्यकता नयाँ उद्योग खोल्नेभन्दा पनि सञ्चालनमा रहेका उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने वातावरण तयार गर्नु हो । त्यसका लागि पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने, उद्योगमैत्री नीति लागू गर्ने, निर्यातलाई सहज बनाउने तथा उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानीलाई थप प्रोत्साहन गर्ने नीति आवश्यक छ । कुनै पनि राष्ट्रको विकास केवल सरकारी बजेटले मात्र सम्भव हुँदैन। त्यसका लागि निजी क्षेत्रको लगानी, उद्योगको उत्पादन क्षमता र बैंकिङ क्षेत्रको वित्तीय विश्वास समान रूपमा आवश्यक पर्छ । सिमेन्ट उद्योगमा नबिल बैंकले गरेको कर्जा लगानी केवल कर्जा प्रवाह मात्र होइन । यो सडक, पुल, जलविद्युत् आयोजना, विद्यालय, अस्पताल, औद्योगिक पूर्वाधार तथा लाखौँ नेपालीको भविष्यमा गरिएको लगानी हो । बैंकमा भएको पुँजी उद्योगमा पुग्छ, उद्योगले उत्पादन बढाउँछ, उत्पादनले रोजगारी सिर्जना गर्छ, रोजगारीले आय बढाउँछ र आयले अर्थतन्त्रलाई चलायमान बनाउँछ । यही आर्थिक चक्रले आत्मनिर्भर, उत्पादनमुखी र समृद्ध नेपालको आधार तयार गर्छ । सिमेन्ट उद्योगले नेपाललाई आयातमा निर्भर मुलुकबाट आत्मनिर्भर राष्ट्र बनाएको छ । अब उद्योगको लक्ष्य निर्यात विस्तार गर्दै नेपालको आर्थिक रूपान्तरणमा थप योगदान पु¥याउनु हुनुपर्छ । यही यात्रामा नबिल बैंकको दीर्घकालीन वित्तीय साथ उद्योगको वृद्धिसँगै राष्ट्र निर्माणको यात्रामा पनि महत्त्वपूर्ण साझेदारी बनेको छ
पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमा ८१ करोड घाटा हुने अनुमान
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आइतबार (साउन ३१ गते) बसेको बैठकले सोमबार (भदौ १ गते) देखि लागू हुने गरी इन्धनको हालकै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो । मूल्य यथावत् राखिए पनि निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने जनाइएको छ । यसअघि निगमले साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको थियो । हाल कायम मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वर्गीकरण अनुसार फरक–फरक तोकिएको छ। जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ रहेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा विभाजन गरी मूल्य समायोजन गर्दै आएको छ ।
नाटामा पद मात्र पाएको छैन, दृष्टिकोणसहित जिम्मेवारी पाएको छु: अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम आएसँगै उनले विकासन्युजसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन् । ‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’ पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो । पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए । निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे । संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे । उनी एक मतले शताब्दीसम्म काम गर्छ भनेर गम्भीर बनेका थिए । ‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो । नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ । यही सोचका साथ उनी निर्वाचनमा होम्मिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् । ‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे गम्भीर सुनिन्छन् । उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो । पाण्डेको अनुसार नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई जीवन्त राख्नेछ । निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे । नाटाको ५९ औं शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।