सासु कोषमा जम्मा भएको अर्बौं बढी रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा (सासु) कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याए । महासंघ अध्यक्ष ढकालले भने–‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौं चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनुपर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’ औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।
उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियो : अध्यक्ष मल्होत्रा
काठमाडौं । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताएका छन् । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताएका हुन् । उनले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताए । अध्यक्ष मल्होत्राले जेनजी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताए । अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । उनकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ । अध्यक्ष मल्होत्राले भने–‘सबभन्दा यो देशको दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी विना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ ?’
राजनीतिक दल खोल्ने प्रतिस्पर्धा जस्तै कम्पनी खोल्ने लहर चलाउनुपर्छ : हेमराज ढकाल
काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा उद्योग र कम्पनी सञ्चालनका लागि सहजरूपमा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषदद्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले हाल देशमा राजनीतिक दल खोल्ने जति सहज वातावरण उद्योग,व्यवसाय स्थापना र विस्तारमा नहुँदा समग्र आर्थिक वृद्धि अवरुद्ध भइरहेको बताए । ढकालका अनुसार जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । तर त्यही जोशजाँगर उद्योग र उद्यमशीलता विकासतर्फ छैन । उनले भने, ‘दिनदिनै नयाँ दल खुलिरहेका छन् । यदि कम्पनी र उद्योग पनि त्यत्तिकै गतिमा खुल्न थाले देश समृद्धि तिर उड्न थाल्थ्यो । केवल नयाँ राजनीतिक दलहरूको बाढी आएर देश समृद्ध हुँदैन । त्यसका लागि उद्यमशीलता, उद्योग विस्तार र आर्थिक सुधारलाई राजनीतिक एजेन्डाको पहिलो प्राथमिकता बनाउनैपर्छ ।’ आगामी निर्वाचनका घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तार सहज बनाउने स्पष्ट तथा कार्यान्वयनयोग्य नीति अनिवार्य रूपमा समावेश गर्न ढकालले राजनीतिक दलहरूलाई आग्रहसमेत गरे ।