विश्वभर पुग्दै नेपाली आलुबाट बनेको ‘फ्रेञ्च फ्राइज’, अमेरिकापछि अब युके, अस्ट्रेलिया र जापानमा पनि
काठमाडौं । नेपालमा उत्पादित ‘फ्रेञ्च फ्राइज’ अमेरिका निर्यात सुरु गरिसकेको फर्स्ट च्वाइस फुड्स प्रालिले विश्वका अरू मुलुकमा पनि निर्यात प्रक्रिया अगाडि बढाएको छ । उद्योगका सञ्चालक कृष्ण पौडेलका अनुसार अस्ट्रेलिया, युके र जापानमा ‘फ्रेञ्च फ्राइज’ पठाउने तयारी भइरहेका हो । ‘यही मंसिर महिनाभित्रै युके पठाउँदैछु, जापान पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ,’ सञ्चालक पौडेलले भने, ‘निर्यात गर्नुअघि डकुमेन्टेसन, गुणस्तरदेखि लिएर सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यो भइरहेको छ ।’ निर्यात अघि अपनाउनुपर्ने प्रक्रिया सहज भएको उद्योगी पौडेलले बताए । उनका अनुसार केही आधारभूत ल्याब, कच्चा पदार्थ मेट्रियल ल्याब, क्वारेन्टाइन भएकोले समस्या छैन । आफ्नो उत्पादनमा स्थानीयदेखि लिएर सरकारको पनि सकारात्मक साथ रहेको उनको भनाइ छ । उद्योगी पौडेलका अनुसार फस्ट च्वाइस फुड्सले हालसम्म ३० जिल्लाका करिब ३५ हजार किसानलाई उद्योगसँग जोडेको छ । किसानलाई आवश्यक बीउ उद्योगले नै वितरण गर्दै आएको छ । साथै आलुको न्यूनतम मूल्य पनि तोकेको छ । उद्योगले खेतमै गएर किसानको आलु खरिद गर्ने गरेको छ । उनले भने, ‘हामीले आलुको न्युनतम रेट तोक्नुका साथै उत्पादन पछि हामी खेतमै गएर आलु खरिद गर्छौं । किसानलाई बजारको चिन्ता गर्नुपर्दैन ।’ केही समयअघिसम्म नेपाली बजारमा मात्रै सीमित आफ्नो उत्पादन अहिले अन्तर्राष्ट्रियमा बजारमा पुग्दा उत्साहित छन् उद्योग पौडेल । साथसाथै नेपालीले नेपाली उत्पादनलाई सर्पोट नगर्ने तीतो यथार्थ पनि रहेको उनले सुनाए । ‘नेपाली उत्पादन गुणस्तर छैन भन्ने सन्देश फैलाएको छ, वास्तविकता त्यस्तो होइन,’ पौडेल भन्छन्, ‘नेपाली उत्पादनप्रति हाम्रा विक्रेताहरू नै नाक खुम्चाउनुहुन्छ ।’ त्यस्तै, उद्योगी पौडेलले विश्वका शक्तिशाली देशले क्वालिटी टेस्ट गरेर हाम्रो उत्पादन राम्रो छ भनिरहँदा नेपाली विक्रेता भने हुन्न भनेर पछि परेकै कारण समस्या हुने गरेको बताए । नेपाली उत्पादन नेपाली किसानको पसिना भएकाले त्यसको सम्मान गर्नुपर्ने उनको भनाइ छ । नेपालले वार्षिक अर्बौं रुपैयाँ बराबरको खाद्यपदार्थसँग सम्बन्धित वस्तुहरू आयात गर्ने गरेको छ । उद्योगी पौडेलका अनुसार आलुसँग जोडिएका कुरकुरे, चिप्स, फ्रेञ्च फ्राइज पनि ठूलो मात्रामा आयात हुने गरेको छ । नेपालीमै उत्पादन हुने वस्तु आयात गर्नुको साटो यहीँ उत्पादनलाई बजारीकरण गरेर आयात विस्थापित गर्नुपर्ने उद्योगी पौडेलको जोड छ । ‘एउटा कृष्ण पौडेलले फ्रेञ्च फ्राइजको आयात रोक्न सक्छ भने अर्को कृष्ण पौडेलले उत्पादन गरेर बजारीकरण गरेर ब्राण्डिङ गर्यो भने आयात रोकिँदैन त ?,’ उनले भने । पौडेलका अनुसार पछिल्लो ६ महिनामा भारतबाट आउने फेञ्च फाइज ७० प्रतिशत कम भइसकेको छ । त्यसको फाइदा नेपाललाई नै भएको उनले तर्क गरे । ‘फ्रेञ्चफ्राइज निर्यात गर्दा हामीले डलर भित्र्यायौं जबकि हिजोका दिनमा डलरको अभाव थिएन ? मलाई लाग्छ हामीले एक महिनामा एक लाख डलर भित्र्याएका छौं,’ उनले भने । आफ्नो व्यवसायलाई अभियानको रूपमा अगाडि बढाउँदैछन् उद्योगी पौडेल । किसानको पीडा देखेर नेपालमा पहिलोपटक प्लान्ट टप प्रविधि प्रयोगमा ल्याएको उनले बताए । यो अभियानअन्तर्गत कसरी कष्ट कसरी घटाउने र उत्पादन वृद्धि कसरी गर्ने भन्नेमा जोड दिएको उनको भनाइ छ । ‘माटोमा रमाउने किसानको प्रगति जबसम्म हुँदैन तबसम्म उद्योग र राष्ट्रको हुँदैन भनेर मैले बुझेको छु,’ पौडेल भन्छन्,‘ म उहाँहरूकै हकहितको लागि दिनरात लागिरहेको छु, उहाँहरूसँगै हातेमालो गरेर अघि बढिरहेको छु।’ किसानको लागि स्थानीय सरकार, कृषि मन्त्रलायलगायत सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउँछन् उद्योगी पौडेल । कागजमा मात्रै कृषि उत्पादन नहुने, त्यसको लागि माटोमा रमाउने किसानसँग हात मिलाउनुपर्ने उनल बताए । ‘कागजमा रमाउने किसानलाई समातेर देश विकास हुँदैन, वास्तविक किसानको पीडा सुन्नुपर्यो, माटोमा रमाउने किसानलई समातेर देशको अर्थतन्त्रदेखि लिएर उत्पादन पनि वृद्धि गर्नुपर्यो,’ उनले भने । नेपालमा गर्न सके सम्भावना नै सम्भावना रहेको तर त्यसमा व्यक्ति मात्रै नभएर सबै सेक्टेर लाग्नुपर्ने उद्योगी पौडेलको विचार छ । ‘म एउटा व्यक्ति हो, व्यक्तिले मात्रै अगाडि बढाएर केही हुँदैन, राष्ट्रलाई अगाडि बढाउने हो भने सबै सेक्टर लाग्नुपर्छ,’ उनी भन्छन् । सरकारी निकायसँगको भेट र छलफलको क्रममा टिकापुरको कैलालीलाई आलुको हब बनाउन अनुरोध गरेको उद्योगी पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले किसानलाई बीउ दिन्छौं, त्यसमा शतप्रतिशत अनुदान र समयमै मल उपलब्ध गराइदिनुस्, उद्योगको लागि केही गर्नुपर्दैन भनेका छौं ।’ उनले आलुमा क्रान्ति ल्याएर छाड्ने अडान राख्ने गरेका छन् । रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मा स्थापना भएको फर्स्ट च्वाइस फुड्सले ‘हिमालयन क्रिस्प’ र ‘हाम्रो फ्राइज’ ब्रान्डका फ्रेन्च फ्राइज उत्पादन गर्दै आएको छ । पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले छोटो अवधिमै नेपालको फ्रेन्च फ्राइज बजारमा आफ्नो बलियो स्थान जमाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा पनि पुग्न सफल भएको छ । उद्योगी पौडेलका अनुसार दुई अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगले अत्याधुनिक युरोपियन प्रविधि प्रयोग गरेर प्रति घण्टा दुई टन फ्रेन्च फ्राइज उत्पादन गर्ने क्षमता राख्छ । अहिले फ्रेन्च फ्राइजसँगै कम्पनीले क्रिनिकल कट, स्माइल्स, ह्यास ब्राउन, स्मोकी बाइट्स, आलु टिक्की, भेग स्टिक, बर्गर प्याटी, पोटाटो वेजेस लगायत उत्पादन पनि गर्दै आएको छ ।
चार महिनामा ३६ अर्ब बढी विदेशी लगानी प्रतिवद्धता, सूचना प्रविधिमा बढ्दैछ चासो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासमा ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कातिक महिनासम्म नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिवद्दता प्राप्त भएकाे हो । उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिव ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ । सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ, जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ । पर्यटनतर्फ ११८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामुलक १ वटा उद्योगका लागि १८ करोड, खानीक्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागकाअनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।
नेपाल विश्वविद्यालय र उद्योग वाणिज्य महासंघबीच शैक्षिक सहकार्यको समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । महासंघ र विश्वविद्यालयबीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारी पत्रमा महासंघतर्फबाट अध्यक्ष ढकाल र विश्वविद्यालयतर्फबाट रजिष्ट्रार डा. सूर्यराज आचार्यले हस्ताक्षर गरेका छन् । पाँच वर्षसम्म कायम रहने सो समझदारी पत्रमा दुवै पक्षले पाठ्यक्रम विकास, संयुक्त अनुसन्धान र नवप्रवर्तन, उद्यमशीलता विकास, विद्यार्थीको इन्टर्नशिप तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयहरू समावेश गरिएको छ । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा यो समझदारीले देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेश एवं विदेशमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताए । 'उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवाहरूलाई रोजगारीका अवसरहरू प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ । आउने दिनमा पनि यस्तो सहकार्यका लागि हामी सकारात्मक छौं,' उनले भने । विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले महासंघसँग भएको समझदारीले नेपालको शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 'हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हो । महासंघसँगको सहकार्यले त्यो लक्ष्य प्राप्तिमा ठूलो योगदान दिनेछ भन्ने हाम्रो विश्वास हो,' डा. लोहनीले भने । यस्तै, विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै त्यसका लागि महासंघसँगको सहकार्य सहयोगी हुने बताए । यस्तै, विश्वविद्यालयका रजिष्ट्रार डा. सूर्यराज आचार्यले पुराना विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बदलिएको समाजको आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समाज र श्रम बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको बताए । गत जेठ महिनामा महासंघ र विश्वविद्यालयबीच विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा प्रारम्भिक छलफल भएको थियो ।