हरि ॐ पूजा सामग्री उद्योगलाई उद्योग विभागको ७ दिने अल्टिमेटम

काठमाडौं । राधा धागो उद्योगले हरि ॐ पूजा सामग्री उद्योगविरुद्ध ट्रेडमार्क दर्ता खारेजीको माग गर्दै उजुरी दिएको छ । बुटवल उपमहानगरपालिका-४, रुपन्देहीस्थित राधा धागो उद्योगले बुटवल उपमहानगरपालिका-६ स्थित हरि ॐ पूजा सामग्री उद्योगका सञ्चालक यशोदा ओस्तीविरुद्ध ट्रेडमार्क दर्ता खारेजीका लागि उजुरी दिएको उद्योग विभागले जनाएको हो ।

विभागका अनुसार उजुरी परेको उद्योगको नाम र ठेगानामा संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम उजुरीको प्रतिलिपिसहित ७  दिने म्याद सूचना पठाइएको थियो । तर, हालसम्म लिखित प्रतिक्रिया पेस नभएको तथा म्याद तामेलीको प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशित गरेको जनाएको छ ।

बाटोको म्यादबाहेक ७ दिनभित्र विभागको कानुन शाखामा उपस्थित भई आफ्ना सबुद प्रमाणसहित आफैँ वा कानुनी प्रतिनिधिमार्फत लिखित प्रतिक्रिया पेस गर्न विभागले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने र त्यसपछि कुनै उजुरी नलाग्ने विभागले सूचनामार्फत जनाएको छ ।

सूचनामा ‘हरि ॐ’ तथा ‘शास्त्रीय वैदिक जनै’ लगायतका व्यापारिक चिह्नसम्बन्धी विवरण उल्लेख गरिएको छ ।

Share News