उद्योग मन्त्री बने दीपककुमार शाह, को हुन् उनी ?
काठमाडौं । सुनसरी-४ बाट निर्वाचित रास्वपा सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्री बनेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उद्योगमन्त्रीका लागि साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले साहलाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन् । मेकानिकल इन्जिनियरसमेत रहेका साहको राजनीतिक यात्रा भने उतारचढावपूर्ण देखिन्छ । उनी चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा सक्रिय थिए । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ मा जन्मेका उनी हाल भक्तपुरको नयाँ थिमिमा बस्दै आएका छन्। साह जनमत पार्टीका उपाध्यक्षसमेत बनेका थिए । तर, पार्टीभित्रको विवाद र अनुशासन उल्लंघनको आरोपमा उनी कारबाहीमा परे । सुरुमा ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएका साह पछि पार्टीबाटै निष्काशित भएका थिए । जनमत पार्टीले उनीमाथि गुटगत गतिविधि सञ्चालन गरेको र पार्टी विधानविपरीत व्यवहार गरेको आरोप लगाएको थियो । जनमतबाट निष्काशित भएपछि साहले आफ्नै राजनीतिक दल निर्माण गर्ने प्रयास गरेका थिए । जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक पहिचानसहित ‘जनस्वराज पार्टी’ गठन गर्ने प्रयास गरे पनि प्रारम्भमा अदालतबाट त्यसले मान्यता पाएन । त्यसपछि उनले पार्टीको नाम परिवर्तन गरी गत मंसिरमा ‘सर्वोदय पार्टी’ दर्ता गराएका थिए । साह उक्त पार्टीका अध्यक्षसमेत बने । तर, प्रतिनिधिसभा निर्वाचनमा भने उनले रास्वपासँग सहकार्य गर्दै रास्वपाको चुनाव चिह्न लिएर सुनसरी-४ बाट उम्मेदवारी दिएका थिए । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा साहले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गरेका थिए । उनले कार्कीलाई झन्डै २६ हजार मतान्तरले हराएका थिए । निर्वाचनमा उल्लेख्य मतान्तरसहित विजयी भएका साह अहिले उद्योग मन्त्रालयको नेतृत्वमा पुगेका छन् । राजनीतिक दल परिवर्तनदेखि आफ्नै पार्टी गठनसम्मको यात्रा तय गरेका साहका लागि उद्योगमन्त्रीको जिम्मेवारी भने सरकारमा उनको पहिलो ठूलो कार्यकारी भूमिकाका रूपमा आएको छ । साहसँग जलविद्युत क्षेत्रमा विज्ञता रहेको छ । पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले २३ वर्षसम्म हाइड्रोपावर परियोजनाहरुमा काम गरेका थिए । उनले राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक परीक्षकको रूपमा काम गरेको अनुभवसमेत बटुलेका छन् । ग्यासको सहज आपूर्ति व्यवस्थापन गर्न नसकेपछि मन्त्री गौरीकुमारी यादवले राजीनामा दिनु परेको थियो । साहको पनि मुख्य काम ग्यासको तत्काल सहज व्यवस्थापन गर्नुहुनेछ।
ग्यास उद्योगीबारे मन्त्रीको टिप्पणीप्रति उद्योग परिसंघको असन्तुष्टि
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै संसदीय समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले दिएको ‘ग्यास उद्योगीलाई पाता नकसेसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण टिप्पणी भएको जनाएको हो । परिसंघका अनुसार विपद्को समयमा सरकारसँग सहकार्य गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागिपरेका उद्योगी–व्यवसायीलाई यस्ता अभिव्यक्तिले निराश बनाएको छ । परिसंघले लगानी अभिवृद्धि, रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बेला मन्त्रीको अभिव्यक्तिले समस्या समाधानभन्दा अवरोध सिर्जना गर्ने ठहर गरेको छ । विज्ञप्तिमा आपूर्ति शृंखलामा परिस्थितिजन्य अवरोधका कारण ग्यास अभाव देखिएको हुन सक्ने उल्लेख गर्दै कुनै उद्योगी वा व्यवसायीले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही गर्नुपर्नेमा आफूहरू स्पष्ट रहेको जनाएको छ । परिसंघले विपद्को समयमा सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अझ आवश्यक रहेको भन्दै जिम्मेवार अभिव्यक्ति र तथ्यमा आधारित निर्णय गर्न सरकारसँग आग्रह गरेको छ ।
ग्यास अभावको दोष उद्योगीलाई मात्र नदिन ग्यास उद्योग संघको आग्रह
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीप्रति दिएको अभिव्यक्ति आपत्तिजनक भएको जनाएको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्को समयमा ग्यासको आपूर्ति सहज बनाउन उद्योगीहरू आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर काम गरिरहेको अवस्थामा मन्त्रीबाट गैरजिम्मेवार र अमर्यादित अभिव्यक्ति आउनु दुःखद् भएको जनाएको हो । संघका अनुसार नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले ५ दशकभन्दा बढी समयदेखि उपभोक्तालाई सेवा दिँदै आएका छन् । विभिन्न विपद् तथा संकटका समयमा समेत उद्योगीहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निरन्तर काम गर्दै आएको संघको दाबी छ । हालको ग्यास अभावलाई उद्योगीलाई मात्र दोष दिएर समाधान गर्न नसकिने संघले जनाएको छ । ग्यास आपूर्तिमा देखिएको समस्याको वस्तुगत समीक्षा गर्नुपर्ने संघको भनाइ छ । आधा सिलिन्डरको व्यवस्था लामो समयसम्म कायम गरिएको गुनासो संघले सरकारले १५ दिनका लागि भन्दै ७.१ किलोको आधा सिलिन्डर ग्यास वितरण गर्ने व्यवस्था गरे पनि त्यसलाई करिब चार महिनासम्म निरन्तरता दिइएको जनाएको छ । संघले गत २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्र पठाएर पुनः पूरा सिलिन्डरमा फर्कन आग्रह गरेको भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको दाबी गरेको छ । ग्यासको आयातमा समयमै आवश्यक निर्णय नहुनु, पूरा सिलिन्डर लागू भएपछि सिलिन्डरको माग अचानक बढ्नु तथा पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता कारणले पनि अहिलेको अभाव सिर्जना भएको संघको भनाइ छ । यी विषयलाई समेत समेटेर ग्यास आपूर्तिको अवस्थाको समीक्षा गर्नुपर्ने संघले जनाएको छ । ‘बदनियत प्रमाणित भए कारबाही गर्न सहयोग गर्छौं’ कुनै ग्यास उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भएमा सम्बन्धित उद्योगमाथि कानुनअनुसार कारबाही गर्न आफूहरू तयार रहेको संघले जनाएको छ । तर, प्रमाणबिना ग्यास उद्योगीलाई दोषी देखाउने र भौतिक कारबाहीको संकेत गर्ने अभिव्यक्ति आपत्तिजनक भएको संघको भनाइ छ । संघले कठिन परिस्थितिमा उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको जनाएको छ। त्यसका लागि सम्बन्धित सरकारी निकायसँग सहकार्य गर्न र नेपाल सरकारका व्यवहारिक निर्देशन पालना गर्न आफूहरू प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ । ग्यास आपूर्ति सहज बनाउन सहयोग गर्ने सम्बन्धित निकाय, उपभोक्ता तथा अन्य सरोकारवालाप्रति संघले आभारसमेत व्यक्त गरेको छ ।