गणपति वनस्पतिको आम्दानीमा ५६५ प्रतिशत उछाल, १ अर्बबाट सिधै ८ अर्ब

काठमाडौं । वनस्पति घ्यू तथा प्रशोधित खाद्य तेल उत्पादन गर्ने गणपति वनस्पति लिमिटेडले सन् २०२५ मा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । कम्पनीले एक वर्षमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५६५.६४ प्रतिशतले वृद्धि भएको हो । सन् २०२४ मा कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब २४ करोड रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा सन् २०२५ मा ७ अर्ब १ करोड ४० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो । यद्यपि कम्पनीले सन् २०२२ मा भने १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो । जुन पछिल्लो एक दशक यताकै उच्च आम्दानी थियो । अघिल्ला वर्षहरूका तथ्याङ्कअनुसार कम्पनीले सन् २०१६ मा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ, सन् २०१७ मा ३ अर्ब १६ करोड रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ७५ करोड रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ५६ करोड ३० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ५१ करोड रुपैयाँ र सन् २०२१ मा ८ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।  सन् १९९८ मा स्थापित गणपति वनस्पति सन् २०२३ अप्रिलमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनीले खाद्य तेल तथा सम्बद्ध उद्योग क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ । कम्पनीले बारामा रहेको उद्योगबाट उच्च गुणस्तरीय वनस्पति घ्यू, प्रशोधित तेल, तोरीको तल उत्पादन गर्दै आएको जनाएको छ ।  वार्षिक १ लाख २० हजार मेट्रिक टन उत्पादन क्षमताको गणपति वनस्पति नेपालकै सबैभन्दा ठूलो तेल उद्योग रहेको कम्पनीको दाबी छ । करिब तीन दशकदेखि खाद्य तेल उत्पादन गर्दै आएको कम्पनीले अत्याधुनिक प्रविधियुक्त उद्योग सञ्चालन गर्दै आएको छ ।  कम्पनीले सफारी, सफारी हेल्थ, छक्र तथा रामदेव ब्राण्डमा तेल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । लक्की ग्रुप अन्तर्गत सञ्चालित गणपति वनस्पतिको अध्यक्ष अमित मोर र सञ्चालक राजीव मोर छन् । कम्पनीले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि तेल निर्यात विस्तार गर्दै आएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँ ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले दीर्घकालीन बैंक ऋण ४४ करोड २० लाख रुपैयाँका लागि डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तै, ४ करोड रुपैयाँ अल्पकालीन बैंक ऋणका लागि ए फोर रेटिङ प्रदान गरिएको छ । साथै इन्फोमेरिक्स नेपालले ६ अर्ब रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन ऋणका लागि डबल बी माइनस तथा ए फोर रेटिङ प्रदान गरेको छ ।

उच्च कर तिर्ने १६ करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । सरकारद्वारा उच्च करदाता घोषित १६ जना संस्था तथा व्यक्तिलाई निजी क्षेत्रको तर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट उत्कृष्ट कर योगदान गर्ने करदाताहरूलाई सम्मान गरेको थियो । सोही सम्मानित करदाताहरूलाई परिसंघले पनि कदरस्वरूप सम्मान प्रदान गरेको जनाएको छ। वस्तु निर्याततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगतर्फ युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि तथा ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालिलाई परिसंघले सम्मान गरेको छ। यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि, सूचना प्रविधि सेवा निर्याततर्फ भेरिस्क नेपाल प्रालि, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, बैंक, वित्तीय संस्था तथा बीमातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएका छन्। रेमिटेन्स तथा मनी ट्रान्सफर सेवातर्फ आईएमई लिमिटेड, निकायमध्ये नेपाल दूरसञ्चार प्राधिकरण, वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्मतर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबारतर्फ भीएफ सर्भिसेज (मोरिसस) प्रालि पनि सम्मानित भएका छन्। विसं २०७६ श्रावणदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण दाखिला गरी सबैभन्दा बढी भ्याट तिरेकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र व्यक्तिगत करदातातर्फ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् । मंगलबार सीएनआई सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मान प्रदान गर्दै सर्वोत्कृष्ट करदाता हुनु व्यक्तिगत तथा संस्थागत उपलब्धिमात्र नभई राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए। उच्च करदाताको योगदानको कदर गर्दै परिसंघले सम्मान गरेको उनले उल्लेख गरे ।  कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजबहादुर शाह, हेमराज ढकाल, अमित मोर, गभर्निङ काउन्सिल सदस्य विजय शाह, राजस्व समिति सभापति गोपालकुमार अग्रवाल, महानिर्देशक डा। घनश्याम ओझालगायतको उपस्थिति थियो ।

रिलायन्स स्पिनिङ्गले पुस ७ गतेदेखि आईपीओ बिक्री गर्ने, न्यूनतम् ५० कित्ता आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।  कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ७५८ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भईसकेको, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५५६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेर प्रीअलटमेन्ट भइसकेको, ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता कर्मचारीहरुलाई सुरक्षित राखि बाँकी ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुलदा गरिनेछ । अंकित मूल्य १ सय रुपैयाँ नै कायम रहेपनि बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्तालाई सेयर जारी गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्ताहरुका लागि कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य तोकिएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।   कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।