काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका लागि इन्डोनेसियाकी प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकालले सोमबार (आज) आईएमई समूहमा आयोजित भेटघाटका क्रममा प्रस्तावित राजदूत लिस्टियोवातीलाई स्वागत गरेका हुन् ।
बंगलादेशको ढाकामा कार्यरत लिस्टियोवाती नेपालका लागि समेत राजदूतका रूपमा प्रस्तावित छिन् ।
भेटपछि सामाजिक सञ्जालमार्फत ढकालले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् ।
दुई देशबीचको सम्बन्ध आपसी सहयोग र साझा मूल्य–मान्यतामा आधारित रहेको बताउँदै उनले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने लिस्टियोवातीको प्रतिबद्धताको प्रशंसा गरेका छन् ।
‘नेपाल र इन्डोनेसियाबीच आपसी सहयोग र साझा मूल्य–मान्यतामा आधारित लामो समयदेखिको मित्रता छ,’ ढकालले लेखेका छन्, ‘द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने उहाँको प्रतिबद्धता वास्तवमै प्रेरणादायी छ ।
ढकालले प्रस्तावित राजदूत लिस्टियोवातीको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।


