निजी क्षेत्रको विश्वास जितेर अर्थतन्त्र चलायमान बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँग बिहीबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई नेपालको आर्थिक विकासको महत्त्वपूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । 

उनले लगानी, उत्पादन, रोजगारी र उद्यमशीलता विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले सरकार र निजी क्षेत्रबीचको विश्वास र सहकार्यबाट मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताए । 

null

राष्ट्रपति रामचन्द्र पाैडेल र अञ्जन श्रेष्ठ ।

उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण र रोजगारी सिर्जनासँगै नेपालको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेको सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपालले पछिल्लो समय ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको र त्यसको असर जनजीवनसँगै पूर्वाधार तथा आर्थिक गतिविधिमा समेत परेको उल्लेख गरे ।

विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्पछिको उद्धार, पुनर्निर्माण र पुनःस्थापनामा महासंघले देखाएको तत्परता र सहयोगको प्रशंसा गरे ।

समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्प आवश्यक रहेको बताए ।

भेटमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । 

उनले लगानीको गति अपेक्षाअनुसार बढ्न नसकेको, बजारमा माग कमजोर रहेको र व्यवसायी तथा लगानीकर्ताको आत्मविश्वास अझै पूर्ण रूपमा फर्किन नसकेको उल्लेख गरे ।

पछिल्ला प्राकृतिक विपद्ले अर्थतन्त्रमा थप चुनौती थपेको बताउँदै श्रेष्ठले भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत्, पर्यटन, व्यापार–व्यवसाय तथा नेपाल–चीनबीचको आवागमन र आपूर्ति प्रणालीमा समेत असर पारेको बताए ।

विपद्बाट प्रभावित पूर्वाधार तथा निजी क्षेत्रका परियोजनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने भन्दै उनले सरकार एक्लैले पुनर्निर्माण सम्पन्न गर्न कठिन हुने धारणा राखे ।

श्रेष्ठले निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान गर्दै ठूलो संख्यामा रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई व्यवसाय गर्ने क्षेत्रका रूपमा मात्र नभई मुलुक निर्माणको महत्त्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने बताए ।

लगानी, उत्पादन र रोजगारी विस्तारका लागि स्थिर तथा पूर्वानुमानयोग्य नीति, स्पष्ट कानुनी व्यवस्था, गुणस्तरीय पूर्वाधार, प्रभावकारी सरकारी सेवा र लगानीमैत्री वातावरण आवश्यक रहेको उनले बताए ।

सरकार र निजी क्षेत्रबीचको संवादलाई थप संस्थागत र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले व्यवसायीले व्यवहारमा भोगिरहेका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न सके त्यसको सकारात्मक प्रभाव लगानी, उत्पादन र रोजगारीमा पर्ने बताए ।

महासंघले लगानी प्रवद्र्धन तथा समग्र आर्थिक विकासका लागि विद्यमान ऐन–कानुनमा आवश्यक सुधारका सम्बन्धमा सरकारसमक्ष सुझाव प्रस्तुत गर्दै आएको पनि उनले जानकारी दिए ।

राष्ट्रपतिबाट निजी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण साझेदारका रूपमा दिइँदै आएको सकारात्मक दृष्टिकोण र मार्गदर्शनका लागि धन्यवाद दिँदै श्रेष्ठले सरकारसँगको निरन्तर संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
 

Share News