काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने सम्झौता भएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य लगायतका पदाधिकारीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वैद्यले यस सहकार्यले उद्योगी–व्यवसायीहरूको वित्तीय ज्ञान र अनुपालन क्षमता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले व्यवसायीहरूलाई वित्तीय विवरण तयार पार्न र वित्तीय अनुशासन कायम राख्न बैंकले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने बताए ।
बैंकले फ्युचर रेडी अवधारणाअनुरूप सुरक्षित, प्रविधिमैत्री र दिगो बैंकिङ अभ्यासमार्फत दीर्घकालीन संस्थागत सुदृढीकरणमा जोड दिँदै आएको छ ।