ठमाडौं । नेपालमा स्टार्टअप उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंमा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा नोभेम्बर ५ र ६ मा ह्याकाथन हुन लागेको हो । कार्यक्रम काठमाडौं वर्ल्ड स्कुलमा सञ्चालन हुनेछ ।
ह्याकाथनमा सहभागी टोलीले सीमित समयभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गरी निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नेछन् । उनीहरूले समाधानको सम्भाव्यता, व्यावसायिक मोडेल, बजारको आवश्यकता र विस्तार योजनाबारे प्रस्तुति दिनुपर्नेछ ।
कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ । छनोट भएका टोलीले लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।
ह्याकाथनको उद्देश्य नयाँ व्यावसायिक विचार र प्रविधिमा आधारित समाधान पहिचान गर्नु मात्र नभई तिनलाई लगानी र मार्गदर्शनसँग जोड्नु पनि रहेको आयोजकले जनाएको छ ।
नेपालका प्रारम्भिक चरणका स्टार्टअपले लगानी, बजार पहुँच, अनुभवी मार्गदर्शक र व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गर्दै आएका छन् । यस्तो अवस्थामा ह्याकाथनले उनीहरूलाई आफ्ना अवधारणा परीक्षण र सुधार गर्ने अवसर दिने आयोजकको अपेक्षा छ ।
कार्यक्रमले प्रतिभाशाली युवा उद्यमी पहिचान गर्नुका साथै सम्भावनायुक्त स्टार्टअपलाई लगानीका अवसरसँग जोड्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
ह्याकाथनमा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको माध्यमबाट आवेदन दिन सक्नेछन् ।