बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।  एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्को कठिन घडीमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए। उनले देशलाई आवश्यक परेको समयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना आफन्त गुमाएका छन् । यस्तो विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले एमएडब्ल्यू ग्रुपले रु १ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो । कम्पनीले आगामी दिनमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धतासमेत जनाएको छ ।

बाढीपीडितका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट र २१ लाख रुपैयाँ दिने

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पु‍र्याउन शिवम् सिमेन्ट लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक तथा निर्माण सामग्री सहयोगको घोषणा गरेका छन् । कम्पनीले नेपाल सरकारसँगको समन्वयमा ११० बाढी पीडित घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले कुल ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  उक्त रकम बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा विपद्पछिको पुनर्निर्माणमा उपयोग हुने कम्पनीले जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता पनि शिवम् सिमेन्टले व्यक्त गरेको छ । कम्पनीले प्रभावित नागरिकको जीवन पुनःस्थापना र पुनर्निर्माणका लागि आफ्नो सहयोग आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ ।

बाढीपीडितलाई ग्यास उद्योग संघले १ हजार २५० सिलिन्डर दिने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दिवान बहादुर चन्दले संघको तर्फबाट उक्त सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो धनजनको क्षति भएको भन्दै संघले दुःख व्यक्त गरेको छ ।  संघले विपदमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । त्यस्तै, संघले घाइतेहरूको शीघ्र उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । विपद्का कारण प्रभावित नागरिकको दैनिक जीवन कठिन बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउन विभिन्न निकाय मानवीय सेवामा जुटिरहेका छन् ।  यही परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रबाट राहत सहयोग गर्ने उद्देश्यले ग्यास सिलिन्डर उपलब्ध गराउन लागेको संघले जनाएको छ ।