अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराइएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिए । अन्य क्रसर उद्योगहरू अनुगमन भइरहेको उनको भनाइ छ । ‘हामीले जिल्ला सञ्चालनमा रहेका क्रसर उद्योगको अनुगमन गरिरहेका छौँ,’ प्रमुख थुलुङले भने, ‘कानून विपरीत रहेका क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउन बन्द गराउँदै आएका छौँ । अनुगमनका क्रममा अवैध रुपमा सञ्चालनमा रहेको पाइएपछि लेगुवाघाटमा रहेको क्रसर उद्योगलाई बन्द गराएका छौँ ।’ क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिए । आवश्यक कानूनी प्रक्रिया पूरा नगरेसम्म सञ्चालनको लागि रोक लगाइएको उनको भनाइ छ । अवैध रुपमा चलिरहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएपछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको उनले बताए । ‘राज्यको सम्पत्ति दोहन गर्न पाइँदैन,’ उनले भने, ‘सबै क्रसर उद्योगलाई कानूनी दायरामा ल्याउन आवश्यक कदम अघि बढाएका छौँ ।’ जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ । पक्की पुलबाट ५ सय मिटर, सडक मार्ग, खोला किनाराबाट २ सय मिटर र हाइटेन्सन लाइनभन्दा १ सय मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानूनी प्रावधन रहे पनि उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको अनुगमन समिमिले जनाएको छ । क्रसर उद्योग लेगुवा–भोजपुर राजमार्गको पक्की पुलदेखि करिब ३ सय मिटर उत्तर, अरुण नदी किनाराबाट ६० मिटरको दुरीमा सञ्चालनमा छ । बस्तीभन्दा ५०० मिटरभित्र भए बन्द गर्नुपर्ने प्रावधान रहेको छ । क्रसर भोजपुरको लेगुवा बजार र धनकुटाको राम बजारबाट ३५० मिटरभित्र रहेको समितिको ठहर छ । मध्यपहाडी राजमार्गको लेगुवास्थित अरुण नदी किनारामा विसं २०७२ को माघ महिनादेखि अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा छ । रासस

चार वटा फर्मलाई जरिवानासहित कारबाही

काठमाडौं । नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई २० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।      भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान १० हजार जरिवानासहित कारबाही गरेको छ । त्यस्तै, काठमाडौं महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि १० हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको विभागले जनाएको छ ।      सोमबार विभागले काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिइ व्यवसायमा आवश्यक सुधार गर्न, कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।   

सौर्य ऊर्जाबाट सञ्चालन हुने नेपालकै पहिलो नुडल्स उद्योग बन्यो 'करेन्ट नुडल्स’

काठमाडौं । करेन्ट नुडल्स उत्पादन गर्ने यशोदा फुड्सले कपिलवस्तुको चन्द्रौटामा ८६५ केडब्ल्यूपी क्षमताको छानामाथिको सौर्य ऊर्जा प्रणाली सफलतापूर्वक जडान गरेको छ । कम्पनीले २३ नोभेम्बर देखि यस सौर्य ऊर्जाबाटै उद्योग सञ्चालन गर्न थालेको जनाएको छ । यससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ । कम्पनीले आफूलाई 'नेपालकै पहिलो ग्रीन नुडल्स उत्पादन केन्द्र' का रूपमा स्थापित गरेको घोषणा गरेको छ । कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा जडान गर्ने पहिलो उद्योग यही हो । कम्पनीका अनुसार यस प्रणालीले उद्योगको करिब ८० प्रतिशत विद्युत आवश्यकताहरू पूरा गर्नेछ । साथै ६५ प्रतिशत विद्युत खर्च घट्ने, प्रयोगविहीन छानाको सदुपयोग हुने र कार्बन उत्सर्जनमा ठूलो मात्रामा कमी आउने अपेक्षा गरिएको छ । यो परियोजना प्राइम रिन्यूएवल्स प्रालिले निर्माण गरेको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सुविधा प्रदान गरेको थियो । साथै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले जर्मन अनुदान डीकेटीआई कार्यक्रम अन्तर्गत व्याज अनुदानसहित अतिरिक्त आर्थिक सहयोग गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल कार्यकारी निर्देशक जीपी साहले भने, 'हामी नेपालकै पहिलो सौर्य प्रणालीयुक्त नुडल्स प्लान्ट सञ्चालन गर्न पाएकोमा निकै गर्वित छौँ । ८५६ केडब्ल्यू क्षमताको यो प्रणालीबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुनेछ र करिब २ हजार टन कार्बन–डाइ–अक्साइड उत्सर्जन बचत हुनेछ । यसले उत्पादन लागत घटाउँछ र हामीलाई बजारमा अझ प्रतिस्पर्धी बनाउँछ ।' त्यसबेला एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशन (कार्बन घटाउने) दिशामा अघि बढाउन सहयोग गर्ने बताए । प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गका अनुसार परियोजना तीन महिनाभित्रै सम्पन्न गरिएको हो । यो प्रणालीमा उच्च कार्यक्षमताका दुइतर्फी (बाइफेसियल) सौर्य प्यानल, नवीन सौर्य पीभी प्रविधि र कृत्रिम बुद्धिमत्तायुक्त (एआई–सक्षम) स्मार्ट इनभर्टर प्रयोग भएको उनको भनाइ छ । विश्वभर सौर्य ऊर्जा वातावरणमैत्री र कम खर्चिलो ऊर्जा विकल्पका रूपमा तीव्र गतिमा विस्तार भइरहेको छ । नेपालका उद्योगहरूले पनि छानामाथिको सौर्य ऊर्जा प्रणालीलाई सस्तो विद्युत स्रोत र कार्बन उत्सर्जन घटाउने उपायका रूपमा तीव्र गतिमा अपनाइरहेका छन् । एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगले यस्तो प्रणाली जडान गरिसकेका छन् । यो संख्या दैनिक बढ्दै छ । नेपाल जलविद्युतमा धनी भए पनि सौर्य ऊर्जा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको छ । त्यसैगरी, नेपाल विद्युत प्राधिकरणले नेट–मिटरिङ सुविधा उपलब्ध गराएको हुँदा उद्योगहरूलाई अतिरिक्त उत्पादन राष्ट्रिय प्रसारण लाइनमा पठाउने अवसर पनि मिल्दछ । यसले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउँछ र पूर्वाधार खर्च पनि कम हुन्छ ।