नेपाल दाना उद्योग संघको अध्यक्षमा पुरी

काठमाडाैं । नेपाल दाना उद्योग संघको १७औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि राजधानीमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुङ्टा, तृतियउपाध्यक्षमा ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित भएको बताइएको छ । त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुली, ज्ञानेन्द्रप्रसाद उप्रेती, डा. दिनेस गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका छन् । २०४७ सालमा स्थापना भएको नेपालदानाउद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद् रहेका छन् । संघकाअनुसार विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।

सोमबारदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आयात निर्यात सुचारु हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द हुँदै आएको आयात निर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीसँग भेटवार्ता गरेको थियो । उक्त भेटवार्तामा व्यवसायीहरुसँंग भएको सहमतिअनुसार प्रबन्ध शुल्क लिएर वन्द आयात निर्यात कार्यलाई सुचारु गर्ने विश्वास दिलाएका छन्। वरिष्ठ उपाध्यक्ष मल्लको नेतृत्वमा चेम्वर कार्य समिति सदस्य एवं भन्सार सभापति निरज राई, नेफाका सभापति प्रकाश सिंह कार्की, भन्सार एजेन्ट महासंघका अध्यक्ष भरत घिमिरे लगायत सहभागी रहेको टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी अघि बढ्ने  विश्वास दिलाएको बताइएको छ । यसअघि बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालित एअर कार्गो बिल्डीङबाट आयात निर्यात गरिने माल सामानहरुको कार्गो प्रवन्धशुल्क बृद्धि गरिएको थियो । बृद्धिपछि व्यवसायीहरुले विरोधस्वरुप चैत १ गतेदेखि आयातनिर्यात ठप्प पार्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीलिबाट चैत्र १ गतेदेखि लागु हुने गरी सूचना जारी गरी शुल्क बृद्धि गरेको थियो । नेपाल चेम्वर अफ कमर्सले बिगतमा सरोकारवाला सवै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष पनि राखेको थियो । यस सम्वन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई सुझावहरु प्रस्तुत गरे अनुसार शुल्क कायम गर्ने मौखिक सहमति समेत भएको हो ।

प्रधानमन्त्रीसँग एफएनसीसीआईका अध्यक्ष राणाको भेटवार्ता

काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपाल भ्रमणमा आएकी भारतीय उद्योग परिसंघ (कन्फेडेरेशन आफ इण्डीयन इन्डस्ट्रिज)का अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारी उपाध्यक्ष सोबना कामिनेनीको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले नेपाल समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्ष कामिनेनीलाई आग्रह गरेका थिए । उनले मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थालाई लागनी गर्नका लागि अनुरोध गरेका थिए । सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलनको गृहकार्य भैइरहेको जानकारी गराइन् । नेपालमा भारतीय लगानी विस्तारको लागि सम्मेलन महत्वपूर्ण हुने उनको भनाइ छ । त्यस्तै सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रकातर्फबाट बधाई दिदै नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र उत्साहित रहेको बताइन् । उनले संयुक्त लगानी विस्तार गर्न पर्नेमा जोड दिएकी थिइन् । लगानीका क्षेत्रको पहिचान लगायतको लागि आगामी दिनमा ठोस गृहकार्यसहित अगाडी बढ्नु पर्ने उनको धारणा छ ।