एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउने काम गर्छ ।
जगदम्बाले स्टिलले तिर्यो विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले विगतमा लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।
जेनजी आन्दोलनको असर मदिरा व्यवसायमा, हिमालयन डिष्टिलरीको नाफा ५४.६१ प्रतिशत घट्यो
काठमाडौं । हिमालयन डिष्टिलरीको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ५४.६१ प्रतिशत घटेर ९ करोड २ लाख ५८ हजार रुपैयाँ गरेको छ । जबकि गत वर्षको असोजमा १९ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल बिक्री आम्दानी २७.६४ प्रतिशत घटेर १ अर्ब ७ करोड ५७ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४८ करोड ६६ लाख १४ हजार रुपैयाँ कुल बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कसल नाफा १५.१६ प्रतिशत घटेर ३६ करोड १० लाख रुपैयाँ र सञ्चालन नाफा ५२.४७ प्रतिशत घटेर १२ करोड ५७ लाख रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ र जगेडा कोष ३२.६५ प्रतिशत बढेर १ अर्ब १८ करोड ९४ हजार रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १८.०२ रुपैयाँ घटेर ११.७५ रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.०४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ । समीक्षा अवधिमा देशभर परेको भारी वर्षाबाट बाढी पहिरो, डुबानका कारण मदिराको विक्री वितरण गर्न प्रत्यक्ष प्रभाव पर्यो भने तराईमा भएको डुबानका कारणबाट स्थानीय स्तरमा हुने मदिरा कारोबार तथा खपतमा समेत प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ । साथै, जेनजी आन्दोलनको प्रभाव पनि देशभर परेको र आन्दोलनको प्रभाव मदिरा खरिद बिक्रीमा मात्र नभई केही समय सम्म उत्पादनमा समेत परेको कम्पनीको दाबी छ । सो आन्दोलनको प्रभाव अहिलेसम्म पनि उद्योगी, मदिरा व्यवसायीमा रहेको कम्पनीले जनाएको छ । जसबाट मदिरा व्यवसायले आफ्नो लय लिन कठिनाइ परिरहेको कम्पनीको भनाइ छ ।