जेनजी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो माग गरेका हुन् । उनले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउने जिकिर गरे । विभिन्न पेशा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरे । नाफा आर्जन गर्नु नै अपराधको रुपमा चित्रित हुनु दुःखद् भएको बताए । उनले भने, ‘युवा पुस्ताको आन्दोलन र माग बमोजिम मुलुकमा भ्रष्टाचार न्युनिकरण गरी शुसासन कायम गर्ने प्रयत्नमा सरकार लागेको छ । तर निजी क्षेत्र विगतका आन्दोलनहरु भन्दा यसपटक बढी आहत भएको छ । जसो तसो जोहो गरेर, सरसापट गरेर, ऋण काडेर उद्यमीले लगानी गरेको हुन्छ । रोजगारीको अवसर सिर्जना गरेको हुन्छ । तर पनि उद्यमी व्यवसायीका शयन कक्षसम्म लुटपाट भएको छ । व्यापार व्यवसायमा आगो लागेको छ ।’ अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर निजी क्षेत्रमाथि नै हमला हुनु दुःखको विषय भएको बताए ।
त्रिवेणी सिन्थेटिकले तिर्यो बक्यौताको पहिलो किस्ता, जोडियो बिजुली लाइन
काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
यी हुन् बक्यौता रकम तिर्ने ११ उद्योग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने अभियान चलाएसँगै हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोडेका छन् । यसमध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएको थियो । सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् । रिलायन्स स्पिनिङ मिलले आज मात्रै प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको बुझाएका हो । यसअघि १० उद्योगले ३० लाख ५८ हजार रुपैयाँ बुझाएको जानकारी प्राधिकरणले दिइएको छ । यसरी किस्ता बराबरको रकम बुझाउनेबित्तिकै लाइन जोड्ने नीति प्राधिकरणले अपनाएको छ । यी हुन् ११ उद्योग १. घराना फुड्स २. सिद्धार्थ पेट प्लास ३. एसआर फुड्स ४. गोएनका फुड्स ५. पञ्चकन्या इन्डस्ट्री ६. श्याम प्लास्टिक उद्योग ७. भल्बारी सुचालु कारखाना ८. पञ्चकन्या प्लास्टिक ९. एडुस रोलिङ मिल १०. एसआर स्टिल इन्डस्ट्रिज ११. रिलायन्स स्पिनिङ मिल यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । प्राधिकरणका अनुसार जसले बक्यौता रकम किस्ता वा पूर्ण रूपमा बुझाउँछ उसको विद्युत लाइन तत्कालै जोडिनेछ । यो अभियानले गर्दा लामो समयदेखि बक्यौता नतिरेका उद्योगहरूलाई भुक्तानी गर्न दबाब परेको र राजस्व संकलनमा सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।