जास्मिन पेन्ट्सको आम्दानी साढे ८७ करोड, १० करोडको आईपीओ ल्याउँदै

काठमाडौं । जास्मिन पेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ८७ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।  कम्पनीका अनुसार यो आम्दानी वार्षिक आधारमा करिब ४० प्रतिशतले बढेको हो । साथै पछिल्ला छ वर्षयताकै उच्च सञ्चालन आम्दानी भएको कम्पनीको दाबी छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ८३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २३.३३ प्रतिशत अर्थात १५ करोड ८० लाख रुपैयाँ बढी हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ६७ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यसअघि कम्पनीले आव २०७९/८० मा ६२ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा ७४ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ६५ करोड ५० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।  देशभर विस्तार हुँदै गएको रिटेलर तथा वितरक (डिलर) सञ्जालका कारण कम्पनीले निरन्तर व्यापार वृद्धि हासिल गरेको जनाएको छ । पछिल्ला चार आर्थिक वर्षमा कुल बिक्रीमध्ये शीर्ष १० डिलरको हिस्सा करिब १३ देखि १५ प्रतिशत मात्रै रहेको छ ।  यद्यपि सञ्चालन नाफा मार्जिन भने केही खुम्चिएको छ । आर्थिक वर्ष २०८१/८२ मा २१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको ९ महिनामा १७ प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । सन् १९९४ मा स्थापना भएको जास्मिन पेन्ट्सले चितवनको भरतपुरस्थित उद्योगबाट वार्षिक १८ हजार ३४१ मेट्रिक टन उत्पादन क्षमता रहेको प्लान्टबाट इन्टेरियर, एक्स्टेरियर, मेटल तथा वुड तथा वाटरप्रुफ पेन्ट उत्पादन गर्दै आएको छ । अप्रिल २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० जारी गर्ने तयारी गरेको छ । यसका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको कम्पनीले जनाएको छ । जास्मिन पेन्ट्समा मुख्य रूपमा अर्याल परिवारको लगानी रहेको छ । कम्पनीमा मधुसुधन अर्यालको ३४ प्रतिशत, लक्ष्मणप्रसाद अर्यालको २५ प्रतिशत, अनुराधा शर्मा अर्यालको १५ प्रतिशत, सौगत अर्यालको १३ प्रतिशत तथा सङ्गीता अर्यालको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्षको जिम्मेवारी सङ्गीता अर्यालले सम्हालिरहेकी छन् ।  कम्पनीका अनुसार मूल्य प्राप्तिमा सुधार, ऋणभारमा कमी, अनुकूल ब्याजदर तथा लाभांश वितरणपछि पनि सकारात्मक नगद प्रवाह कायम रहेकाले वित्तीय अवस्था थप सुदृढ बनेको छ  ।  लगातारको नाफा र राइट्स सेयर निष्कासनले कम्पनीको पुँजी आधार मजबुत भएको तथा प्रस्तावित आईपीओपछि पुँजी संरचना अझ सुदृढ हुने कम्पनीको विश्वास छ ।  यद्यपि उच्च मौज्दात र उठ्न बाँकी रकमका कारण कार्यशील पुँजीको आवश्यकता अझै उच्च रहे पनि अघिल्लो वर्षको तुलनामा यसमा सुधार आएको कम्पनीले जनाएको छ ।

महासंघ अध्यक्ष श्रेष्ठ र इजरायली राजदूत बासबीच भेट, लगानी र श्रम सहकार्यमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ । मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल–इजरायल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन निजी क्षेत्रको सक्रिय सहभागिता, लगानी प्रवर्द्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिएका छन् । साथै, सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडेरेसन अफ इजरायली चेम्बर अफ कमर्सबीच भएको सम्झौता नवीकरण गर्दै आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा दुवै पक्ष सहमत भएका छन् । अध्यक्ष श्रेष्ठले इजरायलले हासिल गरेको आर्थिक विकास नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै विशेषगरी कृषि आधुनिकीकरण, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, स्वास्थ्यलगायतका क्षेत्रमा इजरायली अनुभव नेपालका लागि अत्यन्त उपयोगी हुने बताए । उनले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको सम्मानजनक रोजगारीको अवसरको पनि सराहना गर्दै सरकार–सरकार (जीटुजी) श्रम सम्झौताले पारदर्शी र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरेको बताए । हाल संस्थागत रूपमा नेपाली श्रमिक इजरायल गएको उल्लेख गर्दै उनले व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको चाहनाले नेपाली युवाका लागि थप अवसर सिर्जना हुने बताए । अध्यक्ष श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार तथा व्यावसायिक प्रक्रिया सरलीकरणमा काम गरिरहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको बताए । नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासंघ तयार रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाली र इजरायली व्यवसायीबीच पुलको भूमिका निर्वाह गर्न महासंघ प्रतिबद्ध रहेको बताए । भेटमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपाली श्रमिकलाई थप रोजगारीका अवसर उपलब्ध गराउन इच्छुक रहेको बताए । हाल इजरायलले संस्थागत रूपमा नेपाली श्रमिक लैजाने गरेकोमा अब व्यक्तिगत रूपमा घरायसी केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजान चाहेको उनले बताए । साथै, उनले इजरायल नेपाली महिलाका लागि सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा राखे । उनले इजरायल नेपालमा लगानी गर्न इच्छुक रहेको तर इजरायली व्यवसायीले लगानीको सुरक्षा, दोहोरो कर छुट तथा मुनाफा सहज रूपमा फिर्ता लैजान सक्ने कानुनी स्पष्टता खोजेको धारणा राखे । राजदूत बासले नेपालसँग सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन (हर्बल तथा मेडिसिन), चिया व्यापार प्रवर्द्धन, कृषि तथा अन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न इजरायल तयार रहेको बताए । उनले दुई देशका उद्योगी–व्यवसायीबीच प्रत्यक्ष सहकार्य बढ्दै गएमा व्यापार, लगानी र प्रविधि आदानप्रदानका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।

मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर

काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । आईसीसीको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो उद्योग–वाणिज्य संघ बनेसँगै नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । संघका अनुसार आईसीसी सदस्यतापछि नेपाली उद्योगी तथा व्यवसायीले विश्वव्यापी व्यापारिक सञ्जाल, अन्तर्राष्ट्रिय मञ्च, नीति निर्माणसम्बन्धी छलफल तथा विभिन्न व्यापार प्रवर्द्धन कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् । संघका अध्यक्ष अनुपम राठीले आईसीसी सदस्यताले नेपाली उद्योग तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गरेको बताए । उनका अनुसार यसबाट निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी प्राप्त गर्ने तथा विश्वस्तरीय व्यापारिक साझेदारी विस्तार गर्न सहयोग पुग्नेछ । आईसीसीमार्फत नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक भेटघाट, बी–टु–बी कार्यक्रम, तालिम, सेमिनार, वेबिनार तथा विभिन्न अनुसन्धानमूलक प्रतिवेदन र व्यापारसम्बन्धी सामग्रीमा पहुँच पाउने संघले जनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार विवाद समाधानका लागि आईसीसीका मध्यस्थता तथा विवाद समाधान सेवासमेत उपयोग गर्न सकिने उल्लेख गरिएको छ । अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, निर्यात वृद्धि गर्न र नेपालको व्यापारिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।