मोरङ उद्योग व्यापार संघलाई आईसीसीको सदस्यता, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर

काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीसीआई) अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल च्याम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ । आईसीसीको सदस्यता प्राप्त गर्ने नेपालकै पहिलो उद्योग–वाणिज्य संघ बनेसँगै नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

संघका अनुसार आईसीसी सदस्यतापछि नेपाली उद्योगी तथा व्यवसायीले विश्वव्यापी व्यापारिक सञ्जाल, अन्तर्राष्ट्रिय मञ्च, नीति निर्माणसम्बन्धी छलफल तथा विभिन्न व्यापार प्रवर्द्धन कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउने अवसर पाउनेछन् ।

संघका अध्यक्ष अनुपम राठीले आईसीसी सदस्यताले नेपाली उद्योग तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गरेको बताए । उनका अनुसार यसबाट निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षित गर्ने, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी जानकारी प्राप्त गर्ने तथा विश्वस्तरीय व्यापारिक साझेदारी विस्तार गर्न सहयोग पुग्नेछ ।

आईसीसीमार्फत नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक भेटघाट, बी–टु–बी कार्यक्रम, तालिम, सेमिनार, वेबिनार तथा विभिन्न अनुसन्धानमूलक प्रतिवेदन र व्यापारसम्बन्धी सामग्रीमा पहुँच पाउने संघले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार विवाद समाधानका लागि आईसीसीका मध्यस्थता तथा विवाद समाधान सेवासमेत उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

अध्यक्ष राठीले आईसीसी सदस्यता मोरङ उद्योग व्यापार संघका लागि मात्र नभई समग्र नेपाली निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, निर्यात वृद्धि गर्न र नेपालको व्यापारिक पहिचान विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

Share News