नाटामा पद मात्र पाएको छैन, जिम्मेवारीको नयाँ विद्यालयमा छिरेको छु: भरतजंग पाण्डे

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । 

निर्वाचन परिणाम आएसँगै उनले विकासन्युजसँग संक्षिप्त कुराकानी गर्दै  काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन् । 

‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’ 

पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो । 

पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । 

नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए ।

निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे । 

संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे । 

उनी एक मतले शताब्दीसम्म काम गर्छ भनेर गम्भीर बनेका थिए । ‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो ।

नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ ।
यही सोचका साथ उनी निर्वाचनमा होम्मिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् । 

‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे गम्भीर सुनिन्छन् । 

उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो ।

पाण्डेको अनुसार  नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । 
अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई  जीवन्त राख्नेछ ।

निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे । नाटाको ५९ औं शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।

Share News