अर्थमन्त्रीसँग उद्योगीहरुको प्रस्ताव : आयात नरोकौं, कर बढाऔं

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री जनार्दन शर्मालाई आयात नरोक्न सुझाव दिएको छ । आइतबार अर्थमन्त्री जनादर्न शर्मासँग सीएनआईका प्रतिनिधिले गरेकोे छलफलमा सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् । अध्यक्ष अग्रवालले विदेशी वस्तुको आयात रोक्न नहुने बताएका छन् । उनले अर्थमन्त्री शर्मालाई बिदेशी मुद्राको संचितीमा परेको चापबाट माथी उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएका हुन् । सीएनलाईले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक÷फरक बनाउन पनि सुझाव दिएको छ । आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै सिएनआईले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्नेमा जोड दिएको छ । छलफलमा सीएनआईले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिएको छ । उद्योगी अनुज अग्रवालले देशको बर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिँदै बिदेशी मुद्राको संचितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने दुई मुख्य बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रको शुरुवातमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको थियो । त्यस्तै, नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कूल बैदेशिक मुद्रा संचितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख थियो । अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो । अर्थतन्त्रको परिदृश्यले देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताए । अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै नुहने कुरा आफुले बारम्बार भन्दै आएको जानकारी गराएका थिए । ‘केही व्यक्तीले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन्, चुनावी मुद्धा पनि बनाएका छन्’ उनले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’ उनले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने बताए ।

कोरोना सकियो, अब नेपाल विदेशी पर्यटकका लागि खुला भयाे : भवानी राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले दरबारमार्ग महोत्सवले नेपाल विदेशी पर्यटकका लागि खुला भएको सन्देश दिएको बताएकी छन् । महोत्सवमा आफ्नो धारणा राख्दै उनले दरबारमार्ग महोत्सवले अब कोरोना सकिएको र पर्यटनका हिसावले नेपाल खुला भएको सन्देश दिएको बताएकी हुन् । ‘यस्ता कार्यक्रमले पर्यटन विकास, अर्थतन्त्र चलायमान गर्ने हाम्रो विश्वास छ, महासंघले विभिन्न प्रदेश र अन्तर्राष्ट्रिय रुपमा पनि यस्त खालका कार्यक्रम गर्दै आएको छ, यस्ता कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पुग्छ,’ उनले कार्यक्रममा भनिन् । यस्तै,उनले पर्यटकहरुलाई ल्याउनका लागि पनि पहल गर्नु पर्ने धारणा राखिन् । विगत साढे २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महासंघले दरबारमार्ग महोत्सव सुरू गरेको छ । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति भइरहेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना भएको हो । महासंघले महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको जनाएको छ ।

देशलाई व्यापार घाटाबाट मुक्त गराउने हो भने स्वदेशी उत्पादन प्रयोग गरौं : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनु पर्ने बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त आयोजना गरेको दरबारमार्ग महोत्सवमा बाेल्दै उनले स्वदेशी वस्तुको प्रयोग बढाउनु पर्ने धारणा राखेका हुन् । विगत २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको बताउँदै उनले साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नु पर्ने धारणा राखे । महोत्सवको प्रमुख अतिथिका रुपमा धारणा राख्दै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र विदेशी पर्यटकलाई नेपाल ल्याउनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज नभएको बताउँदै उनले अब सबैले मिलेर स्वेदशी उत्पादन प्रयोग गरी सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राखे । ‘पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज थिएन, हामी असहज अवस्थामा थियौं, त्यतिखेर नेपालमा ३० लाख पयर्टटक भित्र्याउने तयारी गरिरहेका थियौं तर, त्यो सम्भव भएन, अब हामीले सकारात्मक ढंगले अगाडि बढ्न आवश्यक छ, त्यसको सन्देश प्रवाह गर्न दरबारमार्ग महोत्सवमा सुरु गरिएको हो, जुन पछिल्लो साढे दुई वर्ष यताकै हामीले गरेको ठूलो कार्यक्रम हो,’ उनले भने । उनले स्वदेशी उत्पादन प्रयोग नगर्यो भने व्यापार घाटा, शोधान्तर स्थिती र तरलताको संकट जहिल्यै व्यहोर्नु पर्ने बताउँदै अब स्वदेशी उत्पादनमा प्राथमिकता दिनु पर्ने धारणा राखे ।