घर निर्माण घट्दा सुस्तायो विद्युतीय बत्ती व्यवसाय

काठमाडौं । राजधानीमा नयाँ भवनको निर्माण घटेपछि विद्युतीय बत्तीको व्यवसाय पनि सुस्ताएको छ । लोडसेडिङ हटेपछि देशका विभिन्न भाग झीलमील भइरहेको बेला ट्युबलाइट, चीम लगायत बत्तीको खपत भने घटेको छ । अर्डर नआएर तीन महिनादेखि बत्तीको व्यापार सुस्ताएको व्यवसायी बताउछन् । नयाँ भवन निर्माणका कामहरुले गति लिन नसकेकाले बत्तीको माग ३० प्रतिशतले घटेको नेपाल विद्युतिय व्यवसायी संघका महासचिव सुदर्शन प्रसाद पौडेलले बताए । ‘हाम्रो व्यवसायको ठुलो हिस्सा भवन निर्माणसँग जोडिएको छ । जती नयाँ भवन बन्छन्, त्यसैअनुसार अर्डर आउछ,’ उनले भने, ‘अहिले निर्माण तथा पुननिर्माणका कामहरु सुस्ताएका छन् । अहिले बैंकले पैसा दिन नसकेकाले निर्माणका कामहरु हुनसकेका छैनन् । त्यसैले लाइटिङ अप्लाइन्सको कारोबार पनि झरेको छ ।’ संघको तथ्याङ्क अनुसार नेपालभर वार्षिकरुपमा करिब ७५ अर्ब रुपैयाँबराबरको विद्युतिय उपकरणको कारोबार हुनेगरेको छ, जसमध्ये २५ प्रतिशत बत्तीको मात्र रहेको छ । ओपल एलइडी सोरुमका इन्चार्ज बानी सिंहका अनुसार एउटा सोरुमबाट मासिक करिब तीन लाख बत्तीको बिक्री हुनेगरेको छ । परम्परागत चीमको विस्थापन पछिल्लो समय परम्परागतरुपमा प्रयोग भइरहेको चीमलाई सिएफएल, एलइडि लाइट जस्ता नयाँ उपकरणले विस्थापित गरेको छ । लोडसेडिङ हटेपछि उपभोक्ताले विद्युतिय खपत बचाउने तर्फ ध्यान पुर्‍याउन खोजेको व्यवसायी बताउछन् । परम्परागत चीमलाई विस्थापित गर्दै बजारमा सिएफएल (कम्प्याक्ट फ्लोरोसेनट लाइट बल्ब) आयो । तर सिएफएल बल्बले ट्युबलाइटले जस्तो चम्किलो उज्यालो नभएकाले सिएफएलले पूर्णरुपमा उपभोक्तालाई सन्तुष्ट पार्न नसकेको फिलिप्सका मार्केटिङ म्यानेजर राजेन्द्र शाक्यले बताए। उनले पछिल्लो समयमा सिएफएल, चीम र ट्युबलाइटलाई पनि एलइडी (लाइट इमिटिङ डायोड) लाइटले विस्तारै विस्थापन गर्ने देखिएको बताए । उनले भने, ‘अब एलइडीले बजारमा अरु बत्तीलाई विस्थापित गरेको छ । यो सिएफएलको तुलनामा कम विद्युत खपत गर्छ । यसको आयु चार वर्षको हुन्छ ।’ तर एलइडी लाइटको मूल्य भने सामान्य बत्तीको तुलनामा दुई गुणा महंगो हुनेउनले जानकारी दिए । लोडसेडिङ हटेपछिको प्रभाव कात्तिकमा लोडसेडिङ हटेपछि विद्युतिय उपकरणको माग बढेसँगै बत्तीहरुको माग पनि बिस्तारै बढेको उनले बताए । उनले भने, ‘ वैकल्पिक उर्जासम्बन्धी उपकरणले हाम्रो कारोबार ओगटेको थियो । लोडसेडिङ हटेपछि हाम्रो कारोबारमा उल्लेखनियरुपमा सुधार आएको थियो । तर पछि नव निर्माणका कामहरु सुस्ताएपछि हाम्रो व्यापार घट्न थाल्यो ।’    

५२ अर्ब लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा, दुई हजार व्यक्तिले रोजगारी पाउने

नवलपरासी। चिनियाँ र नेपाली लगानीकर्ताले ५२ अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेका छन् । बेणीमनीपुरमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको उक्त उद्योगमा करिब ३६ अर्ब रुपैयाँ लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको रहेको छ । उद्योगले दैनिक १२ हजार टन सिमेन्ट र क्लिङकर उत्पादन गर्ने लक्ष्य राखेको छ । सो उद्योगबाट करिब दुई हजार व्यक्तिले रोजगारी पाउने छन् । उद्योगले एक सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक पूर्वाधार निमार्णको काम थालेको हो । थप एक सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढाएको उद्योगले जनाएको छ । उदोगले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी (प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ । रासस

पाल्पामा घरेलु उद्योग बढे

पाल्पा । जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३/७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ दुईवटा उद्योग दर्ता भएको कार्यालय प्रमुख बालकृष्ण गैरेले बताए । जिल्लामा यस आवमा साझेदारी र प्राइभेट लिमिटेडतर्फ गरी एक सय ४९ पुरुष र २३ महिलाको नाममा उद्योग दर्ता भएका छन् । गत वर्ष उत्पादनमूलक ४३, कृषि तथा वनजन्यमूलक ८६, पर्यटन ६२, सेवामूलक ६७ गरी जम्मा दुई सय ५८ उद्योग थिए । वाणिज्यतर्फ यस आवको माघ मसान्तसम्ममा दुई सय ७० वटा उद्योग दर्ता भएका छन् । यी उद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ । खारेजी भएका २७ वटा उद्योगबाट दुई हजार सात सय राजस्व आम्दानी भएको कार्यालयका कर्मचारी दिनेश बस्यालले जानकारी दिए । उनका अनुसार चौराननब्बे वटा संशोधन उद्योगबाट तीन लाख ७९ हजार सात सय पाँच, तीन सय १० नवीकरण उद्योगबाट नौ लाख ९७ हजार एक सय राजस्व आम्दानी भएको छ । यस आवको हालसम्ममा वाणिज्यतर्फ २६ लाख नौ हजार तीन सय पाँच र उद्योगबाट रु १७ लाख ५० हजार बराबरको आम्दानी भएको छ । रामपुरमा सेवा विकास बैंक स्थापना जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा सेवा विकास बैंक लिमिटेडले आफ्नो सोह्रौँ शाखा कार्यालय स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकका कामु कार्यकारी निर्देशक वासुदेव अधिकारीले सो बैंक उद्घाटन गरेका हुन । बैंक उद्घाटनका अवसरमा तीन सय ५० वटा नयाँ खाता खोली एक करोड ३६ लाख निक्षेप सङ्कलन भएको बैंकका महाप्रबन्धक हरिप्रसाद लम्सालले बताए । रासस