शिवम् सिमेन्टद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

मकवानपुर । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुरगढि स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरेको छ । उक्त एम्बुलेन्स एक विशेष कार्यक्रम माफर्त कम्पनीका तर्फबाट संचालक रघु नन्दन मारुले हस्तान्तरण गरेका छन् । एम्बुलेन्स हस्तान्तरण सँगै शिवम् सिमेन्टको तर्फबाट एम्बुलेन्सको व्यवस्थापन तथा अन्य प्रारम्भिक खर्च स्वरुप ५१ हजार रुपैयाँको ‘सिड मनी’ पनि प्रदान गरिएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिको जिम्मेवारीमा हस्तान्तरण गरिएको उक्त एम्बुलेन्सले सुकौरा, बुढिचौर, आमभञ्ज्याङ्ग, मकवानपुरगढि र हटिया लगायत सो वरिपरिका आम जनसमुदायमा सेवा पुर्याउने छ। हाल उक्त स्थानहरुमा कोही बिरामी पर्दा हेटौंडा रेडक्रस र हेटौंडा अस्पतालबाट मात्र एम्बुलेन्सको सेवा उपलब्ध हुुने गरेको थियो । हाल उक्त स्थानहरुमा एम्बुलेन्स सुविधा प्राप्त गर्न करीब डेढ देखि २ घण्टासम्म समय लाग्ने र भनेको बेलामा र चाहिएको वखत पाउन अत्यन्तै मुस्किल पर्ने गरेकोले उक्त ऐम्बुलेन्स प्राप्त भएपछि अब सो क्षेत्रका २५००० भन्दा बढि स्थानीयहरुलाई प्रत्यक्षलाभ पुग्ने कम्पनीको विश्वास रहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय-समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, गा.वि.स. मार्फत विद्यालय संचालनमा सहयोग, स्वास्थ्य चौकी संचालनमा सहयोग, वातावरण व्यस्थापन लगायत वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सन्तोष श्रेष्ठको उम्मेदवारी

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् । विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय रुपमा संलग्न छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र शसक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्य अनुरुप उनले उम्मेदवारी दर्ता गरेका बताएका छन् । नेपाली उत्पादनको बजारिकरण र औद्योगिक विकासको लागि संचार माध्यम र विज्ञापनको ठूलो भुमिका हुने र त्यसको लागि आफुले महासंघ भित्र रहेर सक्दो पहल गर्ने उनले बताएका छन् । विशेषगरी विज्ञापन र मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले संघमा रहेर पनि थुप्रै सुधारका कामहरु गरिसकेका छन् । सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बागमती सफाइ अभियानमा पनि एक मूख्य अभियन्ता हुन् । चार वर्षदेखि बागमती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेका छन् । बागमती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्न सक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघ भित्र रहेर व्यवसायी मैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने बताए । कुनै पनि क्षेत्रमा व्यक्ति होइन संस्था बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने श्रेष्ठले महासंघमा पुगेपछि आफ्नो समय व्यवसायी मैत्री वातावरण र व्यवसायी हकहितमै लगाउने जानकारी दिए । ‘महासंघ वलियो भएमात्र त्यसभित्र आवद्ध व्यवसायीहरु सुरक्षित र सक्षम हुने हुन्,’ उनले भने, ‘महासंघमा पुगेपछि मेरो मुख्य भुमिका भनेकै महासंघ सुदृढिकरण र व्यवसायी मैत्री ऐन नियम तर्जुमा गर्न सरकारसँग पहल गर्नेछु ।’

इँटाको मूल्यमा गिरावट, व्यवसायी मारमा

धनगढी। इँटाको माग घटेर खपत हुन नसकेपछि यस क्षेमा मूल्यमा कमी आएको छ । यससँगै इँटा व्यवसायी मारमा परेका छन् । दुई वर्षअघि प्रतिहजारको रु १३ हजार मूल्य पर्ने इँटा अहिले मूल्य घटेर रु नौ हजारमा बिक्री गर्नुपरेको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाह बताउछन् । “भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,” उनले भने – “भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि व्यवसाय ठप्प भएको छ ।” व्यवसाय जसोतसो चलाउन र उद्योगमा कार्यरत मजदुरलाई ज्यालासम्म दिन पनि अहिले व्यवसायीले लागत मूल्यमा इँटा बिक्री गर्नुपरेको छ । उत्पादन भएको इँटाको माग घटेपछि यसको बिक्री मूल्यमा निकै कमी आएको अर्का व्यवसायी केशव भट्ट बताउछन् । बैंक तथा वित्तीय संस्थाले घर जग्गा निर्माणमा ऋण दिन बन्द गरेकाले पनि निर्माण कार्य अपेक्षित रुपमा हुन नसक्दा इँटाको खपत घटेको बताइन्छ । बैंकले ऋण प्रवाह बन्द गरेपछि व्यवसाय नै सञ्चालन गर्न कठिन भएको भट्टको भनाइ छ । केही वर्षयता चिम्नी इँटा उद्योग बढ्दै गएसँगै इँटाको उत्पादन परिमाण बढ्दै गएको छ । कैलालीमा मात्रै करिब ४५ वटा चिम्नी इँटा उद्योग रहेको बताइएको छ । यी प्रत्येक उद्योगले वार्षिक ३० लाखदेखि ३५ लाख गोटा इँटा उत्पादन गर्दै आएका छन् । रासस