काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउनु पर्ने बताएका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त आयोजना गरेको दरबारमार्ग महोत्सवमा बाेल्दै उनले स्वदेशी वस्तुको प्रयोग बढाउनु पर्ने धारणा राखेका हुन् ।
विगत २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको बताउँदै उनले साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्नु पर्ने धारणा राखे ।
महोत्सवको प्रमुख अतिथिका रुपमा धारणा राख्दै उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र विदेशी पर्यटकलाई नेपाल ल्याउनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज नभएको बताउँदै उनले अब सबैले मिलेर स्वेदशी उत्पादन प्रयोग गरी सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज थिएन, हामी असहज अवस्थामा थियौं, त्यतिखेर नेपालमा ३० लाख पयर्टटक भित्र्याउने तयारी गरिरहेका थियौं तर, त्यो सम्भव भएन, अब हामीले सकारात्मक ढंगले अगाडि बढ्न आवश्यक छ, त्यसको सन्देश प्रवाह गर्न दरबारमार्ग महोत्सवमा सुरु गरिएको हो, जुन पछिल्लो साढे दुई वर्ष यताकै हामीले गरेको ठूलो कार्यक्रम हो,’ उनले भने ।
उनले स्वदेशी उत्पादन प्रयोग नगर्यो भने व्यापार घाटा, शोधान्तर स्थिती र तरलताको संकट जहिल्यै व्यहोर्नु पर्ने बताउँदै अब स्वदेशी उत्पादनमा प्राथमिकता दिनु पर्ने धारणा राखे ।