माग पूरा गर्न सडकमा हड्ताल गर्नुपर्ने बाध्यतालाई अन्त्य गरेँ : चन्द्र ढकाल

महासंघको अध्यक्षबाट बिदा लिने क्रममा उनले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गरेको दाबी गरे ।

फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा गरेका सम्पूर्ण वाचा पूरा गरेको बताएका छन् ।

महासंघको जिम्मेवारीबाट बिदा लिने क्रममा उनले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गरेको र चुनावी प्रतिबद्धताहरू कार्यान्वयनमा आएको दाबी गरे ।

निवर्तमान अध्यक्ष ढकालले महासंघ र आफ्नो जन्मवर्ष समेत एउटै हुनुलाई एक दुर्लभ र सुखद संयोगका रूपमा स्मरण गरे ।

उनले भने, ‘म जन्मेको वर्ष र महासंघ स्थापना भएको वर्ष एउटै परेको छ, यस्तो अवसर थोरैलाई मात्र प्राप्त हुन्छ।’

आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा निजी क्षेत्रका माग पूरा गराउन सडकमा ओर्लिनुपर्ने र हड्ताल गर्नुपर्ने बाध्यतालाई अन्त्य गरेको उनले उल्लेख गरे ।

‘निजी क्षेत्रका मुद्दा सम्बोधनका लागि अब हड्ताल गर्नुपर्ने अवस्था छैन,’ ढकालले भने, ‘नवनिर्वाचित अध्यक्षले पनि महासंघको गरिमा र शिरलाई सधैँ उचो राख्न विशेष ध्यान दिनुपर्छ ।’

उनले आफू जिम्मेवारीबाट बाहिरिए पनि निजी क्षेत्रका मुद्दा र समस्या समाधानका लागि सदैव सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

महानिर्देशक अवस्थीको राजीनामा

यसैबीच, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

व्यक्तिगत कारण देखाउँदै दिएको उक्त राजीनामा निवर्तमान अध्यक्ष ढकालले स्वीकृत गरिसकेका छन् ।

महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमाणपत्र वितरण र सपथ ग्रहण कार्यक्रम भोलि बिहान १०ः ३० बजे टेकुस्थित महासंघको सचिवालयमा हुने तय भएको छ ।

Share News