दुगड स्पाइसलाई तीन लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई तीन लाख जरिवाना गरेको छ । विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो । विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ । यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले आज एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ ।

सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग खोल्न सकिन्छ : पवन गोल्यान

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नीतिगत व्यवस्था भए २ लाख मानिसलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका हुन् । यस्तै उनले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् । उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताए । सरकारले गार्मेन्टसम्बन्धि तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाई छ । उनले सरकारले नेपालमा उत्पादित वस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गरे । सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका बस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताए । अध्यक्ष गोल्यानले पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यातहुने वस्तुको डिउटी निस्शुल्क बनाउन पहल गर्नु माग गरे । नेपालका साना निर्यात उद्योगहरुले निर्यात गर्न नसक्ने भएकाले सरकारले निर्यात हाउस स्थापना गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘हिजो मायाले स्वदेशी जुत्ता किनेँ, आज विश्वासले किन्छु’

काठमाडौं । भद्रपुर–९ झापाकी श्यामप्यारी उप्रेतीले आइतबार जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेलामा चार जोर जुत्ता किनिन् । उनले नेपाली जुत्ता टिकाउ र सस्तो भएकोले मेलामा किन्न आएको बताइन् । केही वर्षअघिसम्म स्वदेशमा उत्पादित जुत्ता–चप्पल भनेपछि राम्रो हुन्न होला भन्ने सोच्ने गरेकी रहिछन् उनले पनि । गत वर्ष सस्तोमा पाइन्छ भन्ने सुनेकै भारमा मेलामा आएकी थिइन् । सस्तो भएकै कारण जुत्ता पनि किनेकी थिइन् । उक्त जुत्ता बलियो र राम्रो भएकोले यसवर्ष चार जोर किनेको उप्रेतीले बताइन् । यस वर्षको मेलामा सबै परिवारका लागि एक/एक जोर किनेर फर्किइन् उनी । त्यस्तै, गोकुलगंगा–३ रामेछापका गोकुल कार्कीले पनि मेलामा तीन जोर जुत्ता किनेका छन् । आवश्यकताभन्दा मेलामा सस्तो भएकै कारण जुत्ता किन्न आएको कार्की बताउँछन् । उनलाई अर्काेपनि फाइदा लाग्छ मेलामा । पसल वा शोरुममा थोरै मोडलका हुने तर, मेलामा धेरै मोडलका हुने तथा छानी–छानी किन्न पाइने र पसलको दाँजोमा २/४ सय सस्तो भएकै कारण मेलामा जुत्ता किन्ने गरेको कार्कीले सुनाए । नेपाली जुत्ता सस्तो र राम्रो भएकोले सधैं नेपाली जुत्ता नै लगाउने गल्छी–७ धादिङका शिव पौडेलले पनि आइतबार तीन जोर जुत्ता किने । नेपाली जुत्ता आफ्नै उत्पादन हो भनेर मायाले किन्न सुरु गरेका उनी अहिले स्वदेशी उत्पादनलाई विश्वासले किन्न थालेको बताउँछन् । सधैं शोरुम तथा पसलबाट किन्ने उनले आज मेलामा सस्तो पाइने लोभले परिवारका सबैका लागि भनेर नै तीन जोर किनेका हुन् । नेपाली उत्पादनको बारेमा ग्राहकलाई जानकारी दिन र नेपाली उत्पादन पनि राम्रा छन् भनेर चिनाउन नेपाली उत्पादक मात्र सहभागी जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला गत बिहीबारदेखि जारी छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा जारी उक्त मेलामा साढे दुई करोडको व्यापार गर्ने लक्ष्य राखिएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जारे बताउँछन् । उनका अनुसार २५ दिनसम्म चल्ने मेलामा सुरुवाती चारदिनको तथ्यांक हेर्दा लक्ष्य पूरा गर्न सकिने विश्वास छ । अहिले दैनिक १५ लाखको हाराहारीमा कारोबार भइरहेको उनी बताउँछन् । सुरुवातको दिन उद्घाटन भएकोले थोरै कारोबार भएको थियो । दोस्रो दिनदेखि राम्रो कारोबार भइरहेको बन्जारेको भनाइ छ । उनका अनुसार नेपाली उत्पादनको प्रवद्र्धन गर्न आयोजित यस मेलामा आएका ग्राहकहरूले सबै मोडल र फेसनअनुसारका जुत्ता चप्पल खरिद गर्न पाएका छन् । साथै नेपाली कम्पनीहरूको बारेमा जान्न र बुझ्न पनि पाएका छन् । ‘पहिलो मेला आयोजना हुँदा ग्राहकहरूको आकर्षण थिएन, तर अहिलेको आकर्षण राम्रो छ, स्वदेशी उत्पादनप्रतिको विश्वासले नै बढेको हो,’ उनले भने । स्वदेशी जुत्ता उत्पादक संगठित भएपछि स्वदेशी उत्पादनले गति लिएको र मेला आयोजना हुन थालेपछि धेरैको आकर्षण बढेको मेलाका संयोजक बन्जारे स्वीकार्छन् । उनका अनुसार बीचमा एसोसियसनको सहकार्यविना विदेशी जुत्ता चप्पल व्यापारीहरूले समेत मेला राख्न थालेका थिए । त्यो समयको मेलामा कुनै बेला स्वदेशी, कुनै बेला विदेशी जुत्ताहरू पाइन्थ्यो । बाह्रै महिना जुत्ताचप्पल मेलामात्र भइरहन्थ्यो । बाह्रै महिना मेला भएपछि ग्राहकको विश्वास घट्ने देखेर एसोसियसनकै पहलमा त्यस्ता मेला बन्द गरिएको थियो । त्यसपछि वर्षमा एक पटक महोत्सव र एक पटक व्यापार मेला गरी दुई पटक मात्र मेला लाग्ने गर्छ । दुई पटकको मेलामा धेरैभन्दा धेरै नेपाली कम्पनीहरूले आफ्ना कम्पनीको प्रवद्र्धन गर्न पाएका संयोजक बन्जारे बताउँछन् । त्यस मेलाबाट ग्राहकहरूले सस्तो, बलियो र राम्रो जुत्ता किन्न पाएकै कारण ग्राहकहरू दोहोरिएर आउने गरेका छन् । मेला महोत्सवले जुत्ता–चप्पलको ब्रान्डिङमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको अनुभव छ । यसपालिको जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेलामा स्टल राख्नेमध्येको एक रोयल फुटवेयर इन्डस्ट्रिज पनि हो । रोयलले दैनिक दुई लाखको कारोबार गरिरहेको व्यवस्थापन प्रमुख शिव पौडेल बताउँछन् । विसं २०६७ देखि करिब चार करोडको लगानीमा उत्पादन सुरु गरेको रोयलले अहिले दैनिक एक हजार जोर उत्पादन गरिरहेको पौडेल बताउँछन् । ‘हिजो नेपाली जुत्ता भन्ने बित्तिकै राम्रो र टिकाऊ हुँदैन भन्ने ग्राहकको सोच थियो, स्वदेशी उत्पादनले पनि क्वालिटी, डिजाइनिङ र लुक्समा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ भनेर निरन्तर लागिरह्यो, अहिले ग्राहकको मन परिवर्तन भएको छ, पहिले जस्तो नाक खुम्च्याउँदैनन्,’ उनले भने । एक दशकअघि दैनिक १०० जोर उत्पादन क्षमताबाट सुरु भएको रोयल फुटवेयरले अहिले दैनिक एक हजार जोर उत्पादन गरिरहेको छ । यो ग्राहककै विश्वास हो । स्वदेशी ब्रान्डले बिस्तारै उपभोक्ताको विश्वास जित्नुका साथै मध्यम वर्गका उपभोक्ताले स्वदेशी ब्रान्ड खोजी–खोजी लगाउन थालेको पौडलको दाबी छ । अहिले ब्रान्डप्रति गौरव गरिरहेको उनी बताउँछन् । रोयलजस्तै बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इण्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज, नमस्ते फुटवेयर लगायतको सहभागिता छ । त्यस्तै, स्मार्ट सुज, वान ओर्ल्ड फुटवेयर, सुरभी पोलीमर्स, सम्राट शुज, ओएशिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुज गरी १९ कम्पनीको सहभागिता मेलामा रहेको छ । २ लाख ५० हजार भन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अपेक्षा आयोजकको छ । स्वदेशी उत्पादनले नेपालमा आफ्नो बजार बढाइरहेको छ भने विदेश निर्यात पनि गरिरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २२ लाख ७४ हजार जोर जुत्ता विदेश निर्यात भएको थियो । यस आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा ४३ लाख ६९ हजार ९३८ जोर जुत्ता निर्यात भएको छ । जसमध्ये स्पोर्ट्स शुज मात्र ४० लाख ८० हजार ६६५ जोर रहेको विभागले जनाएको छ । यसअघि आव २०७६/७७ मा ५६ लाख ६२ हजार जोर जुत्ता निर्यात भएको थियो । नेपालमा १८५० भन्दा बढी जुत्ताचप्पल उद्योग दर्ता छन् । दर्ता भएका मध्ये करिब १५ सय उद्योग सञ्चालनमा रहेको एशोसियसनले जनाएको छ । यी उद्योगका वार्षिक उत्पादन क्षमता १६ करोड जोर छ । तर, नेपालमा अहिले ६ करोड मात्र उत्पादन भइरहेको एशोसियसनका उपाध्यक्ष तथा मेला प्रवद्र्धनका संयोजक बञ्जराको भनाइ छ । जुत्ताको ६५ प्रतिशत बजार स्वदेशी उत्पादनले ओगटेको एसोसियसनले जनाएको छ । नेपाली जुत्ता उद्योगमा करिब ५५ हजारले प्रत्यक्ष रोजगार पाएका छन् । हाल दक्ष जनशक्ति, प्रविधि र कच्चा पदार्थमा विदेशको भरमा उद्योग रहेको उनी बताउँछन् । ५५ हजारले रोजगार पाए पनि ५० प्रतिशत विदेशी जनशक्ति छन् भने ५० प्रतिशत नेपालीले रोजगार पाएका छन् । नेपालमा वार्षिक ९ करोड जोर जुत्ताको माग छ । तर नेपालमा विदेशी उत्पादनले अझै ३५ प्रतिशत ओगटेको एसोसियसनले जनाएको छ । नेपाली उत्पादन क्षमता १६ करोड भए पनि बजारमा नेपाली उत्पादनको हिस्सा भने ६ करोड जति मात्र छ । बिस्तारै बजार हिस्सा बढ्दै जानु राम्रो संकेत भए पनि क्षमताभन्दा उत्पादन निकै कम भएकोले सुधार ल्याउनुपर्ने एसोसियसनको माग छ । एसोसियसनका उपाध्यक्ष भन्छन्, ‘सही तरिकाले आयात भएको जुत्ता चप्पल नेपालमा अतिन्यून छ तर हामी खुला सिमाना र कमजोर व्यवस्थापनका कारण अवैध निर्यातको मारमा छौं, सरकारले यति मात्र नियन्त्रण गर्यो भने हामीले धेरै उत्पादन गर्न पाउथ्यो ।’ नेपालमा सञ्चालित जुत्ताचप्पल उद्योगमध्ये १४० उद्योग एशोसियसनमा आवद्ध छन् । आवद्धमध्ये १९ उद्योगले यसपालिको महोत्सवमा सहभागी जनाएका हुन् । उनीहरू दैनिक व्यापारबाट खुशी छन् । कम्पनी अनुसार दैनिक एक लाखदेखि साढे तीन लाख रुपैयाँसम्म कारोबार हुने गरेको सहभायी कम्पनीका प्रतिनिधिहरू बताउँछन् । नेपाली बजारमा स्वदेशी जुत्ताको इतिहास विसं २०२२ सालबाट सुरु हुन्छ । २०२२ सालमा सरकारले पहिलोपटक बाँसबारी छाला जुत्ता कारखाना स्थापना गरेको थियो । उक्त कारखाना चीन सरकारको सहयोगमा स्थापना भएको थियो । २०४० सालपछि नेपालदेखि निजी लगानीमा जुत्ता उत्पादन सुरु भएको मानिन्छ । जारी मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलामा १० देखि ५० प्रतिशतसम्म छुट हुने आयोजकले जनाएको छ । मेला यही जेठ ८ गतेसम्म चल्नेछ ।