काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नीतिगत व्यवस्था भए २ लाख मानिसलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका हुन् ।
यस्तै उनले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताएका छन् । उनले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताए ।
सरकारले गार्मेन्टसम्बन्धि तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाई छ । उनले सरकारले नेपालमा उत्पादित वस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गरे ।
सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका बस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताए । अध्यक्ष गोल्यानले पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यातहुने वस्तुको डिउटी निस्शुल्क बनाउन पहल गर्नु माग गरे ।
नेपालका साना निर्यात उद्योगहरुले निर्यात गर्न नसक्ने भएकाले सरकारले निर्यात हाउस स्थापना गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।