महिलाद्वारा सञ्चालित ललिपप उद्योगमा धेरैलाई रोजगारी, भन्छन् श्रीमानसँग खर्च माग्नुपर्दैन

<p>काठमाडौं । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् । ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएको छ । धेरै [&hellip;]</p>

काठमाडौं । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् ।

ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिला आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएको छ । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् । इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छिन् ।

सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिलालाई उनले रोजगारी दिन सफल भएकी हुन । इलाम तिल्केनीकी गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् ।

बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त रहन्छीन । उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको छ । छ जनाबाट सुरु भएको उनको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाख रुपैयाँसम्म कमाइ हुँदै आएको छ ।

त्यस्तै इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी छिन् । उनले सो उद्योगमा ३४ जना कामदार राखेर सञ्चालन गर्दै आएकी छिन् । चार लाख रुपैयाँको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनको भनाई छ । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरु आत्मनिर्भरसमेत बन्दै गएका छन्। उद्योगमा सबैलाई कामको बाँडफाँड गरिएको छ ।

मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिलाहरुले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै आएका छन् । उनीहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताए ।

दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । पन्ध्र वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुलो बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो समय विद्युतीय प्रविधिबाटसमेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकार बनाइन्छ ।

हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ । रासस

Share News