काठमाडौं । उद्योगीहरुको छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयातमा कडाइ गर्न नहुने बताएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी परिसंघले सरकारले आयातमा कडाइ गर्न नहुने धारणा राखेको हो ।
परिसंघका अध्यक्ष बिष्णुप्रसाद अग्रवालले अहिले हल्ला भएजस्तो अर्थतन्त्र समस्यामा नभएको बताउँदै सरकारले आयातमा कडाइ गर्न नहुने धारणा राखेका हुन् । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा पुगेको भन्दै हल्ला भइरहेको बताउँदै नेपाल र श्रीलंकाको अर्थतन्त्रबीच धेरै भिन्नता भएको उनको भनाइ छ ।
‘नेपालको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा छैन, समस्यालाई लम्बिन भने दिनु हुँदैन, आयातमा कडाइ गरेर अर्थतन्त्रमा सुधार आउन सक्दैन, बरु त्यसको बैकल्पिक स्रोतसाधनको व्यवस्थपन गर्न सकिन्छ, हामीले उपचार खोज्नु पर्छ,’ उनले भने ।
अहिलेको अवस्थालाई लिएर चिन्ता लिन नहुने उनको तर्क छ । विभिन्न तथ्य तथ्यांक विश्लेषण गर्दा नेपाल अहिले आर्थिक संकटको स्थितिमा नरहेको उनले बताए ।
‘हामीले कर्जा पाइरहेका छैनौं, आयात गर्न पाएका छैनौं, वस्तुको मूल्य बढेर मात्रै आयात बढेको देखिएको हो, संख्यात्मक रुपमा आयात बढेको छैन, हामी प्यानिक हुने अवस्था छैन, तर सचेत भने हुनु पर्छ,’ उनले भने ।
यस्तै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले पनि अर्थतन्त्र खराब अवस्थामा नरहेको बताए । उनले नेपाल र श्रीलंकाको जीडीपीको आकार दोब्बर अन्तर रहेको, जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर रहेको, नेपालको विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त तर श्रीलंकाको १ महिनाका लागि पनि नभएको र मुद्रास्फीति नेपालमा ७ र श्रीलंकामा २५ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै नेपाल र श्रीलंकाबीच तुलना नै गर्न नमिल्ने तर्क राख्छन् ।
‘हाम्रो अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले विभिन्न कदम चालेको छ, अब विदेशी मुद्राको सञ्चिति बढाउनका लागि विदेशी नगारिकलाई नेपालमा अपार्टेमेण्ट खरिद गर्न दिनुपर्छ, नेपाल कम्पनीमा लगानी गर्ने खोज्ने विदेशी नागरिकलाई लगानी गर्न दिनुपर्छ, एनआरएनलाई आइपीओमा लगानी गर्न दिनपर्छ,’ उनले भने ।
उनले परिसंघले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।